धौलागिरि सर्किटबाट फर्कने क्रममा बीचबाटोमा अलपत्र परेका १५ जना पर्यटकको उद्धार


काठमाडौँ। 

म्याग्दीको धौलागिरि सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको शुक्रवार  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने बतासे डाँडा नजिकैबाट उनीहरुको उद्धार गरिएको हो । ३ जना विदेशी र १२ जना नेपाली गरी जम्मा १५ जना पर्यटक धौलागिरि सर्किट गई फर्कने क्रममा मंगलबार कार्तिक ११ गते  उनीहरु अलपत्र परेको भन्ने ट्राभल्स एजेन्सीद्धारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात कार्तिक १२ गते उनीहरुको उद्धारको लागि सुरक्षा निकाय त्यसतर्फ गएको थियो । 

मुस्ताङ्गको सदरमुकाम जोमसोमबाट पैदल हिडेर जानुपर्ने भएको हुँदा उनीहरुको उद्धारमा केही समय लागेको बताइएको छ । उद्धार गरी उनीहरुलाई मुस्ताङको सदरमुकाम जोमसोमतर्फ ल्याइँदै छ । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।