प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगी आन्दोलनमा, वार्ता र संवादबाट समाधान खोज्न मुख्यमन्त्री आचार्यको आग्रह

3.85k
Shares

बुटवल। 

रुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत् लाइन काटिएपछि उद्योगी व्यवसायीहरुले बुधवार आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत् महसुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाइट काटिएको भन्दै उद्योगीहरु आक्रोशित बनेका छन् । उनीहरुले काटिएको लाइन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहीबार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधवार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाइन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहीबार एक घण्टा धर्ना दिने निर्णय गरेको हो । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली बिहान ११ देखि १२ बजे नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए । उनले उक्त कार्यक्रममा उद्योगी–व्यवसायी, व्यवसायिक संघ–संस्था, श्रमिक, कर्मचारीको सहभागीता रहने बताएका छन ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको बुझाइ छ । मुख्यमन्त्री आचार्यद्वारा  बुधवार जारी  प्रेस विज्ञप्तिमा संघीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।