ललितपुर ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा आगलागीबाट पूर्ण क्षतिग्रस्त ललितपुरको बुंगमती (भंैसेपाटी) प्रहरी प्रभाग स्थानीयको आर्थिक र जिन्सी सहयोगमा पुनर्निर्माण गरिएको छ । मंगलवार पुनर्निर्माण सम्पन्न सोही प्र्रहरी प्रभागमा आयोजित कार्यक्रममा भवन प्रहरी प्रभागलाई हस्तान्तरण गरियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र भवन पुनर्निर्माण समितिका संयोजक सुमन महतले शिलापत्र अनावरण गरी उक्त भवन प्रभागलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्थानीयले उक्त भवन निर्माणका लागि नगद र कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामान गरी झण्डै ५० लाख रुपियाँ सहयोग गरेको थियो । भदौ २४ गते आगलागीबाट क्षतिग्रस्त सो भवनमा २६ गते प्रभागका प्रहरी निरीक्षक शशिधर शर्मासहितको टोली फर्केका थिए । सोही दिन समितिका संयोजक महतसहितको टोलीले फूलमालाले स्वागत गरी पूर्ण क्षतिग्रस्त कार्यालयमा शर्माको टोलीलाई प्रवेश गराएका थिए । स्थानीयले नै केही दिन प्रहरीलाई खाना र बस्ने व्यवस्था गरेको थियो ।
समितिले सो क्षेत्रका चार वडाअध्यक्षसहितको समिति गठन गरी प्रभागको भवन पुनर्निर्माणका लागि सहयोगका आह्वान गरेको थियो । समितिका संयोजक महतले ५० हजार १, ललितपुर महानगर–१८ का वडाअध्यक्ष दामोदर खड्का, २१ का वडाअध्यक्ष रविन्द्र महर्जन, २२ का वडाअध्यक्ष सागर तुलाधर र २५ का वडाअध्यक्ष दौलतकुमार खत्रीले जनही २५–२५ हजार रुपियाँ सहयोग गर्नुभएको थियो । सोही क्रममा प्रगति युवा क्लबले २० हजार रुपियाँ सहयोग गरेर स्थानीयहरूलाई सहयोगका लागि आह्वान गरेको थियो ।
१ सय ६६ जना व्यक्ति र संस्थाले २७ लाख ४४ हजार ७ सय ४० रुपियाँ आर्थिक सहयोग गरेका थिए भने ३३ जनाले २१ लाख ६८ हजार रुपियाँ बराबरको जिन्सी सहयोग गरेका थिए । आम्दानी र खर्च विवरण सार्वजनिक गर्दै समितिका कोषाध्यक्ष प्रविण थापाले स्थानीय दाताको आर्थिक र जिन्सी सहयोग नभएको भए यति छिटो भवन बन्न मुस्किल पर्ने बताउनुभयो । उहाँले प्रभाग निर्माणमा २७ लाख ४६ हजार ५ सय ६८ रुपियाँ खर्च भएको जानकारी दिनुभयो ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले आन्दोलनबाट पूर्णरूपमा क्षति भएको भवन पुनःनिर्माण गरी हस्तान्तरण गरेकोमा प्रभाग र समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले प्रभाग पुनःनिर्माणमा स्थानीयले गरेको सहयोगको उच्च मूल्याङ्कन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगर–१८ का वडाअध्यक्ष दामोदर खड्का, समितिका संयोजक सुमन महतलगायतले
छोटो समयमा भवन तयार भएकोमा समितिलाई धन्यवाद दिएका थिए । प्रगति युवा क्लबका कार्यवाहक अध्यक्ष रवि शाहीले स्थानीय सहयोगी हातहरू र प्रहरीको सहयोेगको कारण भवन निर्माण सम्पन्न भएको बताउनुभयो ।











प्रतिक्रिया