किष्ट अस्पताल तोडफोडप्रति चिकित्सक संघ र निजी मेडिकल कलेजहरूको कडा आपत्ति

“स्वास्थ्यकर्मीमाथि कुटपिट अस्वीकार्य, कानुनी कारबाही हुनुपर्छ” - एनएमए


काठमाडौं। 

नेपाल चिकित्सक संघ (एनएमए) ले इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सोमबार भएको तोडफोड र चिकित्सकमाथिको आक्रमण प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।

संघले उक्त घटनालाई अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र भएको आपराधिक कार्यको संज्ञा दिँदै दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको छ ।

त्यसैगरी तोडफोड र आक्रमणप्रति निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल (एपीएमडीसीएन)ले कडा आपत्ति र भत्सर्ना गर्दै विज्ञप्ती जारी गरेको छ ।

गत कात्तिक ८ गते सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको मृत्यु भएपछि घटनाले ठूलो रूप लिएको हो।

राईको उपचारका क्रममा मृत्यु भएको आरोप लगाउँदै सोमबार उनका आफन्त बताउने व्यक्तिहरूको समूह अस्पताल परिसरमा प्रवेश गरी तोडफोड र चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए । आक्रमणको क्रममा अस्पतालका सिसा फुटाइएको, उपकरण तोडिएको र चिकित्सकलाई धम्की दिइएको अस्पताल स्रोतले जनाएको छ । सुरक्षाकर्मीको तत्काल हस्तक्षेपपछि मात्रै स्थिति नियन्त्रणमा आएको थियो ।

संघका महासचिव डा. सञ्जीव तिवारीले सोमबार जारी विज्ञप्तिमा भनेका छन्, “उपचारको क्रममा लापरबाही भएको आशंका लागेमा त्यसको समाधानका लागि कानुनी बाटो खुला छ । तर, त्यसका नाममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट, अमानवीय व्यवहार र स्वास्थ्य संस्था तोडफोड गर्नु आपराधिक कार्य हो, जसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पार्छ ।” “स्वास्थ्यकर्मीहरू जनताको ज्यान बचाउने कार्यमा खटिएका हुन्छन् । उनीहरूलाई डर, धम्की र आक्रमणले होइन, कानुनी न्यायिक प्रक्रियाले मात्र उत्तर दिनुपर्छ ।”

संघले विज्ञप्तिमा स्पष्ट रूपमा माग गरेको छ —“स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ (संशोधन २०७९) बमोजिम दोषीमाथि तुरुन्त कडा कारबाही होस् र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस् ।” “अस्पतालभित्र हुने यस्ता हिंसात्मक गतिविधिहरूले चिकित्सकको मनोबल गिराउँछ र समग्र स्वास्थ्य सेवा प्रणालीलाई नै जोखिममा पु¥याउँछ ।” एनएमएले सरकार र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी छानबिन टोली गठन गर्न, अपराधीहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन र स्वास्थ्यकर्मीले भयमुक्त वातावरणमा सेवा दिन सक्ने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

नेपाल चिकित्सक संघले यस्ता घटनामा राज्यको निष्क्रियता दोहोरिए संगठित आन्दोलनमा उत्रन सक्ने चेतावनी समेत दिएको छ । संघले भनेको छ, “यदि अस्पताल तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोकिएन भने, हामी बाध्यतावश सेवा बहिष्कारदेखि कानुनी संघर्षसम्मका उपाय अपनाउनेछौं ।” संघका पदाधिकारीहरूका अनुसार पछिल्ला वर्षमा देशभर स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना बढ्दो क्रममा छन् । तर कानुनी कारबाही नहुँदा दोषी समूह प्रोत्साहित हुने प्रवृत्ति देखिएको छ । किष्ट अस्पतालको घटनापछि स्वास्थ्य क्षेत्रका विभिन्न संगठनहरूले पनि एकपछि अर्को प्रतिक्रिया जनाएका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूको संस्था एपीएमडीसीएन ले यसअघि नै यो घटनालाई “पेशेवर गुण्डाद्वारा नियोजित आक्रमण” भनेर वर्णन गर्दै तीव्र आपत्ति जनाएको थियो ।

त्यस्तै, नर्सिङ संघ र अन्य स्वास्थ्यकर्मी संगठनहरूले समेत अस्पतालमाथिको हिंसालाई आपराधिक गतिविधिका रूपमा लिएर तुरुन्त कारबाहीको माग गरेका छन् ।

घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरूलाई घटनाको विस्तृत विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालय स्रोतका अनुसार, आवश्यक परे छानबिन समिति गठन गरेर जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याइने तयारी भइरहेको छ ।

नीजी मेडिकल कलेज संघले विज्ञप्तिमा भनेको छ,“उपचारमा असन्तुष्टि भए पनि त्यसको निरुपणका लागि कानुनी बाटो खुला हुँदाहुँदै अस्पताल जस्तो संवेदनशील संस्थामा आक्रमण हुनु गम्भीर आपराधिक काम हो ।”

शुक्रवार सुत्केरीको मृत्यु भएपछि सोमबार दिउँसो आफन्त बताउने एक समूह अस्पतालमा आक्रोशित बनेको थियो । सो समूहका केही व्यक्तिहरूले अस्पतालको आपतकालीन कक्ष, उपकरण र सिसा फुटाउँदै कार्यरत स्वास्थ्यकर्मीमाथि समेत शारीरिक हमला गरेका थिए । आक्रमणका क्रममा अस्पतालमा कार्यरत नर्स र चिकित्सकहरूलाई ज्यान मार्ने धम्की समेत दिइएको अस्पताल स्रोतले जनाएको छ । सुरक्षाकर्मी हस्तक्षेप गरेपछि मात्रै स्थिति नियन्त्रणमा आएको थियो ।

एपीएमडीसीएनले सोमबारको घटना आकस्मिक नभई पेशेवर समूहद्वारा नियोजित रूपमा आयोजना गरिएको बताएको छ । संस्थाको विज्ञप्तिमा भनिएको छ — “विरामीका आफन्तका नाममा पेशेवर गुण्डाहरू परिचालन गरी अस्पताल र स्वास्थ्यकर्मीमाथि क्षति पु¥याउने षड्यन्त्र रचिएको स्पष्ट देखिन्छ । यो कुनै स्वाभाविक असन्तुष्टि होइन, प्रायोजित हमला हो ।”

संस्थाका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस्ता आतंक र त्रासदीबीच निजी मेडिकल कलेज र अस्पतालहरूले सेवा सञ्चालन गर्न सक्दैनन् । सरकारले तत्काल छानबिन गरी दोषीलाई कानुनी कारबाही नगरेसम्म स्वास्थ्य संस्थाहरू असुरक्षित रहन्छन् ।”

संस्थाले चेतावनी दिँदै भनेको छ, “अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गरिएन भने स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा सेवा दिन अस्वीकार गर्न बाध्य हुनेछन् ।” संस्थाका पदाधिकारीहरूले यस्तो अवस्था निरन्तर रहँदा निजी अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा नै ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने चेतावनी समेत दिएका छन् ।

एपीएमडीसीएनले आम सर्वसाधारणलाई संयमता अपनाउन र उपचार प्रक्रियाप्रति असन्तुष्टि भएमा कानुनी मार्गबाट समाधान खोज्न आग्रह गरेको छ ।संस्थाले भनेको छ, “डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू विरामीको जीवन रक्षा गर्ने कर्तव्यमा छन् । उनीहरूलाई धम्की, आक्रमण वा सामाजिक आतंकले होइन, कानुनी न्यायिक प्रणालीले मात्र उत्तर दिनुपर्छ ।”

संस्थाले स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेहरूलाई ‘जेल विदआउट बेल (जमानत नपाउने गरी जेल सजाय)’ अवधारणाअनुसार तुरुन्त कारबाही गर्न माग गरेको छ ।यसअघि पनि विभिन्न अस्पतालमा पटक–पटक हुने आक्रमणका घटना रोक्न नसकिएको भन्दै, अस्पताल सुरक्षालाई कानुनी रूपमा विशेष संरक्षण सूचीमा राख्नुपर्ने माग पनि गरिएको छ ।

संस्थाले यस प्रकारका घटनाले स्वास्थ्यकर्मीको मनोबल गिराउने र सेवा प्रभावित हुने चेतावनी दिँदै सरकारको निष्क्रियता र सुरक्षा कमजोरीप्रति प्रश्न उठाएको छ । “हामी स्वास्थ्यकर्मीहरू राष्ट्रको सेवामा समर्पित छौं । तर राज्यले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्न नसके, हामी जोखिमका बीचमा सेवा निरन्तरता दिन सक्दैनौं,” विज्ञप्तिमा भनिएको छ ।