टिकटकले सार्वजनिक गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट


नेपाल, अक्टोबर २४, २०२५ – टिकटकले प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप सन् २०२५ को दोस्रो त्रैमासिक (क्युए) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।

यो रिपोर्टमा २०२५ अप्रिलदेखि जुन महिनासम्मको तथ्याङ्क समेटिएको छ । जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । जसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउँछ ।

२०२५ को दोस्रो त्रैमासिकमा, टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनको लागि नेपालमा कुल २४,७६,३४५ भिडियोहरू हटाएको थियो । नेपालमा टिकटकले सक्रिय रूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८% रहेको छ, जसमा ९८.४% भिडियो २४ घण्टाभित्र हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियो हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७% हो। हटाइएका भिडियो मध्ये १६३,९६२,२४१ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए । टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१% रहेको छ र ९४.४% फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ ।

रिपोर्टअनुसार, हटाइएका कुल भिडियोमध्ये ठूलो हिस्सा, ३०.६% भिडियोमा संवेदनशील वा वयष्क थिम थिए । जसले टिकटकको कन्टेन्ट पोलिसी उल्लङ्घन गरेका थिए । थप १४.०% भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१% ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लङ्घन गरेका थिए । साथै, ४५.०% लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८% भिडियोहरू सम्पादित वा एआई–जेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो । यस किसिमको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशन गरेर टिकटकले पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

टिकटक छोटा भिडियोहरूका लागि अग्रणी मोबाइल प्लेटफर्म हो। यसको उद्देश्य रचनात्मकतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो । टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेको छ, र यसका कार्यालयहरू न्युयोर्क, लन्डन,
डब्लिन, पेरिस, बर्लिन, दुबई जस्ता देशमा छन् ।