जात्राका लागि चार दिन सार्वजनिक बिदा


बैतडी।

बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो ।

गाउँपालिकाको आइतबारको अध्यक्षस्तरीय निर्णयले कार्तिक ११ र १२ तथा कार्तिक १८ र १९ गते सार्वजनिक बिदा दिइएको हो । कार्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जात्रामा स्थानीयहरूको उल्लासमय सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यस्तै, कार्तिक १८ र १९ गते देहीगडा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिका अध्यक्ष साउँदले बताउनुभयो । स्थानीय सार्वजनिक बिदाको दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने बताइएको छ ।

शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू समेत पुग्ने गर्दछन् । शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको छ । जात्राका लागि शिवनाथले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ ।