छठ पूजा नेपाल र भारतका थुप्रै स्थानहरुमा मनाइने प्रसिद्ध पर्व हो । जसले आध्यात्मिक, सांस्कृतिक र कृषि परम्परामा गहिरो प्रभाव छोडेको छ । किंवदन्ती अनुसार यो पर्वमा सूर्य देवता र उनकी पत्नी छठी माईको पूजा गरिन्छ । खासगरी नेपाल र भारतमा मनाइने भए पनि समयसँगै यसको लोकप्रियता संसारभर फैलिएको छ । छठ पूजा लक्ष्मीपूजाको छैटौं दिन अर्थात् कार्तिक महिनाको षष्ठी तिथिमा मनाइन्छ । यस पर्वको नाम “छठ” शब्द ‘षष्ठी’ बाट आएको हो, जसको अर्थ नयाँ चन्द्रमाको छैटौं दिन हो । छठी माईलाई बालकहरूको सुरक्षा र कल्याणको देवी मानिन्छ । त्यसकारण यो पूजा विशेषगरी महिलामाझ बढी केन्द्रित छ । छठी माईलाई बालबालिकाको स्वास्थ्य र दीर्घायु सुनिश्चित गर्ने देवीको रूपमा समेत पूजा गरिन्छ ।
छठी माईको किंवदन्ती ‘ब्रह्मवैवर्त पुराण’ मा पनि पाइन्छ । पुराणमा उल्लेख भएअनुसार ईश्वरले सृष्टि गर्दाको समय पुरुष (दैवी पुरुष) र प्रकृति (दैवी महिला) को द्वैतता स्थापना गरे । यस द्वैतको आधारमा छठी माईको स्थान छैटौं अंशको रूपमा रहेको मानिन्छ, जसलाई ‘देवसेना’ भनिन्छ । अर्को एउटा पौराणिक कथाअनुसार राजा प्रियव्रत र रानी मालिनी निसन्तान हुँदा ‘पुत्रकामेष्ठि यज्ञ’ गरेको र यज्ञका क्रममा प्रकट भएको खीर रानीले खाएर गर्भवती भएको मानिन्छ । तर, केहि समयपछि गर्भपतनको कारण विक्षिप्त बनेका रानी आत्महत्या गर्ने उद्देश्यले नदीमा पुग्दा त्यहाँ देव सेना नाम गरेकी एक महिला प्रकट भई रानीलाई सूर्य देव र छठी माईसँग पूजा गर्न आग्रह गर्छिन् । रानीले सोही अनुसार पूजा गरेपश्चात मृत बच्चा जीवित भएसँगै छठ पूजा आरम्भ भएको जन विश्वास छ ।

छठी माईलाई सन्तान दिने देवीको रूपमा समेत मान्ने गरेको विभिन्न कथाहरूमा उल्लेख छ । “सोलर ट्रेडिशन्स इन ट्राइबल एण्ड फोक कल्चर्स अफ इन्डिया” नामक पुस्तकमा के.एस. सिंहले उनलाई वंशको रक्षक देवीको रूपमा वर्णन गरेका छन् । छठी माईलाई असुर र देवतासँगको युद्धपछि सुखको पुनःस्थापना गर्ने देवीको रूपमा समेत पुजिन्छ । छठ पर्वमा मुख्यतः सूर्यको पूजा गरिने भए पनि छठी माईको पूजा यस पर्वको अनिवार्य हिस्सा हो । ‘ब्रह्मवैवर्त पुराण’ अनुसार, देवसेनाको विवाह युद्धका देवता कार्तिकेसँग भएको उल्लेख छ । यस दिव्य विवाहलाई आध्यात्मिक र ब्रह्माण्डीय महत्वको रूपमा प्रस्तुत गरिएको छ । छठ पूजा ‘रामायण’ र ‘महाभारत’ जस्ता महाकाव्यसँग पनि गहिरो रूपमा जोडिएको छ । ‘रामायण’ मा सीता र रामले वनवासबाट फर्केर छठ पूजा गरेको जनविश्वास रहेको छ । रामले रावण वधको प्रायश्चितको रूपमा छठ व्रत गरेको बताइन्छ । त्यस्तै, ‘महाभारत’ मा सूर्य पुत्र कर्णले कुरुक्षेत्र युद्ध अघि छठ पूजा गरेको उल्लेख छ र पछि पाण्डव र द्रौपदीले पनि आफ्नो राज्य पुनः प्राप्त गर्नका लागि छठको व्रत बसेको जनविश्वास छ ।
आध्यात्मिक र पौराणिक महत्वको अतिरिक्त छठ पूजाको कृषिमा पनि महत्वपूर्ण स्थान छ । यो पर्व प्रायः बाली फक्रको अवस्थामा मनाइन्छ र सूर्य देवतालाई आभार प्रकट गर्ने अवसरका रूपमा पनि लिइन्छ । यस समय धानको कटाई हुने भएकाले यो पर्वले कृषि क्षेत्रसँग गहिरो सम्बन्ध राख्दछ । यसलाई एक ‘पोस्ट–हार्भेस्ट’ पर्वको रूपमा पनि मानिन्छ, जसले कृषकहरूलाई सूर्य देवता प्रति आभार प्रकट गर्ने अवसर प्रदान गर्दछ । यसरी, छठ पूजा एउटा बहुआयामिक पर्व हो जसले सूर्य पूजा, पौराणिक कथाहरू, कृषि परम्पराहरू र मातृ श्रद्धालाई एकसाथ जोड्छ । यो पर्व सूर्यास्त र सूर्योदय दुवै समयमा गरिने विशेष पूजा विधिहरूसँग सम्बद्ध छ, जसले यस पर्वको महत्वलाई अझ बढाएको छ ।











प्रतिक्रिया