दशैंपछिको ठूलो चाड तिहार

470
Shares

चाड पर्वहरू धार्मिक, सांस्कृतिक, सामाजिक र भावनात्मक कारणहरूले मनाइने गरिन्छ । यसले मानिसहरूलाई एकताबद्धसमेत गरेको देखिन्छ । यस्तै, यी चाडपर्वहरू परिवार र साथीहरूसँग मनाउन, अर्को पुस्तालाई संस्कृति हस्तान्तरण गर्न र जीवनको भीडभाडबाट टाढा आत्म–चिन्तनको अवसर प्रदान गर्न पनि मनाइन्छ ।

अहिले दशैं सकिएपछि तिहार शुरु भइसकेको छ । पाँच दिन मनाइने तिहार कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म हुने गर्छ । पाँच दिन मनाइने भएकोले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य बनेपछि यी पाँच दिनलाई यमपञ्चक भनिएको पौराणिक मान्यता रहि आएको छ ।

तिहारको पहिलो दिन यानि त्रयोदशीको दिन काग पूजा गरिन्छ । यसै दिनदेखि नै हिन्दु धर्मावलीको घर घरमा साँझ बत्ती राख्न शुरु हुन्छ । दोस्रो दिन कुकुर पूजा गरिन्छ । यस दिन बिहान नै घरमा पालेको कुकुर छन् भने उनीहरूलाई फूल माला टिका लगाएर पूजा गर्ने गरिन्छ । घरमा पालेको छैन भने टोल टोलीमा रहेका कुकुरलाई पनि पूजा गरिन्छ ।

लक्ष्मी पूजा

तिहारको मुख्य दिन तेस्रो दिन हो । कार्तिक कृष्ण पक्ष औंसीको दिन लक्ष्मी पूजा गरिन्छ । हिन्दु धर्मावलीमा के मान्यता छ भने यस दिन लक्ष्मी घर घरमा आउँछिन् भन्ने विश्वासका साथ पूजा गर्ने गरिन्छ । यस दिनको सबेरै बिहान बाहिरदेखि बत्ति बालेर लक्ष्मी पूजा गर्ने स्थानसम्म रातो माटोले लिपपोत गर्दछन् । यसो गर्दा लक्ष्मी घरमा बास हुने मान्यता रहेको छ ।

लक्ष्मी पूजाको दिन अधिकांसको घरमा वस्तुहरूको पनि पूजा गर्ने चलन छ । यो सम्पत्तिको रूपमा पूजा गरिने हो । जसमा, सेफ, दराज, टिभी, रेडियो, टेपरिकर्डरआदिको पूजा गरिन्छ । सम्पत्ति र पैसा गरगहना राखेको सेफ वा दराजमा स्वस्तिक लेखेर पूजा गरिन्छ । यस्तै, यस दिन कतै कतै तामाको घ्याम्पोमा पानी भरेर पूजा गर्ने चलन रहेको छ ।

लक्ष्मी पूजाको बिहान गाई पूजा गर्ने चलन रहि आएको छ । तर, गाई आजकल देखिन छाडेको छ । पहिले जस्तो घर घरमा गाई पनि पालिँदैन । यसैले वर्तमान अवस्थामा गाई खोजी खोजी पूजा गर्ने गर्दछ । हिन्दु पुराणअनुसार गाईलाई लक्ष्मीको स्वरुप मानिन्छ ।

गोबर्धन पूजा र म्ह पूजा

चौथो दिन गैर नेवार समुदायले गोबर्धन पूर्जा गर्छन् भने नेवार समुदायले म्ह पूजा गरिन्छ । ‘म्ह’ नेपाल भाषाको शब्द हो र यसको अर्थ हुन्छ शरीर । यसैले यस दिन नेवार समुदाया शरीरको पूजा वा आत्म पूजा गरिन्छ ।

यस दिन नेपाल संवत्को नयाँ वर्ष शुरु हुने गर्छ । नयाँ वर्ष शुरु हुने भएकोले नेवार समुदायमा म्ह पूजा गर्ने चलन रहेको भनिन्छ । परिवारमा सबै बसेर म्ह पूजा गर्दा अण्डाको सगुन लिने पनि गर्दछ ।
शंखधर साख्वाले नेपाली जनताको ऋण तिरी ऋणबाट मुक्त भएको दिन पनि यही दिन भएकोले यस दिनदेखि नेपाल संवतको शुरुआत गरेको इतिहासकारहरूले बताएका छन् । यो सन् ८८० वा ९३७ विक्रम संवत्देखि चलेको नेपाल संवत् हो । नेपाल संवत् चलेको ११४५ वर्ष भइसकेको छ ।

भाइटिका
तिहारको अन्तिम दिन भाइटिका हुन्छ । भाइटिका कार्तिक शुक्ल पक्ष द्वितीया तिथिमा मनाइने गर्दछ । यस दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई पूजा गरिन्छ । तर, नेवार समुदायमध्ये केही जातिमा दाइलाई पूजा नगर्ने चलन रहेको छ । यसमा पनि भाइहरू दिदीहरूको घरमा गएर भाइ टिका मनाउने गर्दछ ।
भाइटिकाको दिन दाजुभाइ नहुने वा दिदी बहिनी नहुने व्य िक्तहरू काठमाडौंका जमलस्थित रानीपोखरीको बालगोपाल मन्दिरमा गएर भाइटिका गर्दछन् । यो मन्दिर यही भाइटिकाको एक दिन मात्रै सर्वसाधारणका लागि खुला रहने गर्दछ ।