सन् १९७१ मा पठाइएको पहिलो इमेल : जसले सम्पूर्ण संसारलाई परिवर्तन ग¥यो

1.5k
Shares

सन् १९७१, त्यो समय अहिलेको तुलनामा धेरै नै फरक थियो । कम्प्युटर भन्ने शब्द नै धेरैका लागि अनौठो थियो भने त्यसलाई देख्ने वा छुनु त झन् सपनासरह थियो । त्यतिबेलाका कम्प्युटरहरू आज जस्तो सानो र पकेटमै अटाउने खालका थिएनन् । पूरै कोठा ओगट्ने विशाल आकारका हुन्थे । तिनको प्रयोग पनि केवल वैज्ञानिक अनुसन्धान केन्द्र वा सैनिक प्रयोगशालामा मात्रै सीमित थियो । त्यस्तो अवस्थामा दुई छुट्टाछुट्टै कम्प्युटरबीच सन्देश पठाउने परिकल्पना नै असम्भव लाग्थ्यो ।

तर, त्यही असम्भवजस्तो देखिने अवधारणालाई सम्भव बनाउने एक जना व्यक्ति थिए, अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिज सहरमा कार्यरत इन्जिनियर रे टोमलिन्सन । उनी अमेरिकी सरकारद्वारा सञ्चालित अनुसन्धान परियोजना “एर्पानेट” मा संलग्न थिए, जुन इन्टरनेटको प्रारम्भिक रूप मानिन्छ । टोमलिन्सनको मुख्य जिम्मेवारी कम्प्युटरहरूबीचको फाइल आदान–प्रदान प्रणाली सुधार गर्नु थियो । यदि त्यही नेटवर्क प्रयोग गरेर मानिसहरूले एकअर्कालाई सन्देश पठाउन सक्ने भए के हुन्थ्यो भन्ने उनको मनमा एउटा फरक सोच पलायो ।

त्यही सोचको जगमा उनले दुईवटा छुट्टाछुट्टै कार्यक्रमलाई एउटै प्रणालीमा एकीकृत गरे । एउटा फाइल ट्रान्सफरका लागि प्रयोग हुने र अर्को आन्तरिक सन्देश पठाउन गरिने प्रयोग । त्यही संयोजनबाट यस्तो प्रविधि तयार भयो जसले दुई भिन्न कम्प्युटरबीच सन्देश आदान–प्रदान गर्न सम्भव बनायो । एक दिन उनले दुई कम्प्युटरका अगाडि बसेर एउटा छोटो सन्देश टाइप गर्दै पठाए । जुन सन्देश सफलतापूर्वक अर्को कम्प्युटरमा पुग्यो । हो, त्यही नै थियो संसारको पहिलो इमेल पठाइएको ऐतिहासिक क्षण ।

त्यो पहिलो इमेलमा के लेखिएको थियो त? धेरैलाई यसबारे जिज्ञासा हुन सक्छ । तर, वास्तविकता यस्तो छ । टोमलिन्सनले त्यस सन्देशमा विशेष केही लेखेका थिएनन्, केवल “क्यूडब्लूईआरटीवाईयुआईओपी” जस्ता की बोर्डका अक्षर परीक्षणका रूपमा प्रयोग गरेका थिए । पछि उनले त्यो सन्देश खासै सम्झनलायक नभएको र सायद निरर्थक र बकवास खालको थियो भनेर स्वीकार गरेका छन् । तर, त्यही सामान्य देखिने प्रयासले डिजिटल सञ्चारमा भने क्रान्तिको ढोका खोलिदियो ।

त्यो प्रविधिमा एउटा सानो तर ऐतिहासिक निर्णय पनि जोडिएको छ । इमेल ठेगानामा प्रयोग गरिने चिन्ह“२” टोमलिन्सनले प्रयोगकर्ताको नाम र होस्ट कम्प्युटर छुट्याउनुपर्ने भएकाले की बोर्डमा नजर दौडाए र एउटा त्यस्तो चिन्ह छाने जुन सामान्य रूपमा नाममा प्रयोग हुँदैन । त्यो साधारण निर्णय अहिले विश्वव्यापी रूपमा अनिवार्य इमेल संरचनाको अंग बनिसकेको छ ।

अझ आश्चर्यजनक कुरा त के छ भने, टोमलिन्सनको त्यो इमेल परियोजना न त उनको आधिकारिक जिम्मेवारी थियो, न त कुनै ठोस योजनाअन्तर्गत आएको अनुसन्धान । त्यो त केवल उनको जिज्ञासाले प्रेरित, साइड प्रोजेक्ट मात्रै थियो । तर, जब उनले आफ्नो त्यो आविष्कार सहकर्मीहरूलाई देखाए, इमेल तुरुन्तै लोकप्रिय भयो । वल्र्डवाइड वेब आउनु धेरै पहिलेदेखि नै एर्पानेटमा इमेल सबैभन्दा धेरै प्रयोग हुने सेवा बनिसकेको थियो, किनभने त्यो सरल, छिटो र प्रभावकारी माध्यम थियो ।

टोमलिन्सनले न त इमेलको पेटेन्ट लिए, न त त्यसको नामबाट कुनै प्रसिद्धि नै खोजे । उनी केवल प्रविधिको समस्यालाई समाधान गर्न चाहन्थे । तर, उनको त्यही सामान्य प्रयासले अर्बौं मानिसहरूलाई एक–अर्कासँग जोड्ने डिजिटल माध्यम तयार गरिदियो । आज हामीले प्रयोग गर्ने जिमेल, आउटलुक, स्ल्याक वा ह्वाट्सएप जस्ता एप सेवाहरूको मूल उत्पत्ति त्यही पहिलो इमेलमा पुगेर टक्क अडिन्छ ।

झनै रोचक कुरा त के छ भने, इमेलले संसारलाई त्यतिबेला भेटायो जब विश्व अझै त्यसका लागि तयार भएका थिएनन । न त पर्सनल कम्प्युटर सर्वसुलभ थिए, न त इन्टरनेट र वेब ब्राउजरजस्ता सुविधा अस्तित्वमा थिए । तर, जब संसार तयार भयो, इमेल पहिल्यैदेखि नै उपयोगी माध्यमको रूपमा स्थापित भइसकेको थियो ।

त्यो पहिलो इमेल न त कुनै सौन्दर्ययुक्त थियो, न त प्रेरणादायी भाषाले भरिएको । तर, त्यसले एउटा यस्तो ढोका खोल्यो जसले विश्वको सञ्चार प्रणालीलाई पूर्णतः रूपान्तरण गरिदियो । आज हामी एक क्लिकमा महादेश पार गरेर सन्देश पठाउँछौं, तर त्यस प्रविधिको बीउ कहाँ, कसरी र कहिले रोपिएको भन्ने कुराबाट अहिले पनि धेरै जना अनभिज्ञ नै छन । सन् १९७१ मा दुईवटा कम्प्युटर, एकजनाको जिज्ञासु मस्तिष्क र केही अनौठा अक्षरहरूको परीक्षणले एउटा युगान्तकारी क्रान्तिको थालनी ग¥यो । जसको फल हामीले अहिले स्वादिष्ट रुपमा उपभोग गरिरहेका छौं ।