दल घोषणा गर्दै मिरज ढुंगाना


काठमाडौँ।

गरिखान देउ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले शनिबार नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एक भिडिओ सार्वजनिक गर्दै पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको जानकारी दिएका हुन् । साथै उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने बताएका छन् ।

‘राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,’ उनले भनेका छन्, ‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।’

७८ जनाका ज्यान जानेगरि भएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने उनले बताएका छन्।

यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन् ।