महत्वपूर्ण राजनीतिक परिवर्तनका हरेक क्षणमा युवाहरूको उपस्थिति आधुनिक इतिहासमा प्रेरणादायी शक्ति रूपमा देखिँदै आएको छ । जब राज्य संकटमा हुन्छ वा अन्याय सहिनसक्नु हुन्छ, तब अधिकांश अवस्थामा युवाहरू नै अग्रपंक्तिमा देखिन्छन् । जसले सत्ताको पुराना जरा उखेलेर नयाँ सम्भावनाको बीज रोप्ने आँट गर्छन् । उनीहरू परिवर्तनप्रतिको अटुट आशाले ओतप्रोत हुन्छन् । तर, संसारभरिका अनेकौं ऐतिहासिक अनुभवहरूले एउटा तितो यथार्थ पनि उजागर गर्छ । संकटको बेलामा क्रान्तिमा होमिने तिनै युवाहरूलाई अन्ततः, बारम्बार धोका दिइन्छ । कहिले पुरानै शासकहरूले, कहिले सत्तामा नयाँ ढंगले प्रवेश गरेका अनुहारहरूले, त कहिले तिनीहरूकै आन्दोलनको समर्थन गर्ने झुटा मित्रहरूले ।
यसको उदाहरणका रूपमा सन् १९६८ मा फ्रान्समा भएको ऐतिहासिक विद्यार्थी विद्रोह उल्लेखनीय छ । शैक्षिक सुधारको माग राख्दै सुरु भएको त्यो आन्दोलन श्रमिकहरूसम्म फैलिँदा राष्ट्रव्यापी आमहड्तालमा परिणत भएको थियो । क्रान्तिको तीव्र गतिले राष्ट्रपति चाल्र्स दे गललाई संसद विघटन गर्न बाध्य बनायो । तर, जब कम्युनिस्ट पार्टी र मजदुर युनियनहरूले सरकारसँग सम्झौता गरे, आन्दोलन सतही सुधारहरूमा मात्रै सीमित रह्यो । अन्ततः पुरानै सत्ता, अराजकताको डर देखाउँदै, पुनः स्थापित भयो र युवाहरूको क्रान्तिकारी सपना अधुरै रह्यो ।
त्यस्तै, सन १९५६ को हंगेरी क्रान्ति सोभियत नियन्त्रण र कम्युनिस्ट शासनविरुद्धको एक साहसी जनविद्रोह थियो । दोस्रो विश्वयुद्धपछिको प्रारम्भिक चुनावमा गैर–कम्युनिस्टहरू जिते पनि १९४८ मा कठोर कम्युनिस्ट नेता माट्यास राखोसीको नेतृत्वमा कम्युनिस्टहरूले सत्ता कब्जा गरे । राखोसीको शासनमा अभिव्यक्ति स्वतन्त्रता समाप्त भयो, गुप्तचर प्रहरी (एभीएच) ले डरको वातावरण बनायो र रुसी भाषा, संस्कृतिलाई जबर्जस्ती थोपथप गरियो । जसले जनजीवन कष्टकर बनायो । सन् १९५६ को सुरुवातमा सोभियत नेता निकिता ख्रुस्चेवले स्टालिनको दमनको आलोचना गर्दै सुधारको संकेत दिएपछि हंगेरीमा परिवर्तनको आशा जाग्यो । नागरिकको व्यापक प्रदर्शन भएपछि राखोसी हटाइए र सुधारवादी नेता इम्रे नाज सत्तामा आए । उनले स्वतन्त्र चुनाव, निष्पक्ष न्याय, सेना फिर्ता, र वार्सअ सन्धीबाट बाहिरिने योजना प्रस्तुत गरे । तर, सोभियत संघले यो कदमलाई खतराको रूपमा लिएर हजारौं ट्यांकसहित आक्रमण ग¥यो । हजारौं नागरिक मारिए र गिरफ्तार भए । अधिकांश देशबाट भाग्न बाध्य भए । नाजलाई गिरफ्तार गरी मृत्युदण्ड दिइयो र सोभियत समर्थक जानोस काडारलाई सत्तामा राखेर विद्रोह दबाइयो ।
सन् २०११ मा इजिप्टको ताहरीर स्क्वायरमा भएको जनआन्दोलन पनि युवा शक्तिको अर्को पीडादायी उदाहरण हो । तानाशाह होस्नी मुबारकको ३० वर्षे शासन युवा प्रदर्शनकारीहरूले अन्त्य गरे । तर, त्यसपछिको संक्रमणकालीन राजनीतिको निर्णायक प्रक्रियाबाट युवाहरूलाई अलग राखियो । मुस्लिम ब्रदरहुडको उदय, धार्मिक कट्टरता र बहुसंख्यावादी राजनीतिले निराशा बढायो । अन्ततः सन् २०१३ मा सेनाले सत्ता कब्जा गर्दै अधिनायकवाद पुनःस्थापित ग¥यो । क्रान्तिका अगुवाहरू कारावासमा परे, निर्वासनमा गए । त्यससँगै तिनका सपना पनि सत्ताको अपहरणमा परे ।
सुडानमा सन् २०१८ मा सुरु भएको आन्दोलनमा विद्यार्थी, महिला र युवाहरू अग्रपंक्तिमा रहे । ओमार अल–बशिरको तानाशाहीलाई उखेलेर नागरिक–सैन्य सत्ता साझेदारीको संरचना बनाइयो । जुन लामो समयसम्म टिक्न सकेन । सन् २०२१ मा फेरि सेनाले “कु” गर्दै अधिनायकवाद फर्कायो । युवाहरूको बलिदान खेर गयो । धेरै मारिए, थुप्रै जेलिए । जुन व्यवस्थाविरुद्ध उठेका थिए, अन्ततः त्यो नै पुनःस्थापित भयो ।
इरानमा भएको आन्दोलन पनि भिन्न थिएन । सन् २००९ को “ग्रीन मुभमेन्ट” देखि सन् २०२२ मा महसा अमिनीको मृत्युपछि सुरु भएको “महिला, जीवन, स्वतन्त्रता” आन्दोलनसम्म, युवाहरूले निरन्तर स्वतन्त्रताको आवाज उठाए । तर, सत्ताको जवाफ सधैं दमन, गिरफ्तारी, मृत्युदण्ड दिनुमा नै सीमित रह्यो । सुधारका नाममा गरिएको प्रत्येक वाचा झुटो सावित भयो र सत्ता झनै क्रूर बनेर फर्कियो ।
युक्रेनको अनुभव केही जटिल भए पनि पाठ सिकाउने खालको छ । सन् २००४ को “ओरेन्ज क्रान्ति” युवाहरूको व्यापक उपस्थिति सहित सम्पन्न भयो । जसले सुधारको आशा पनि जगाएको थियो । तर, सत्तामा पुगेका नेताहरू नै पछि भ्रष्टाचारमा लिप्त हुन थाले । सन् २०१३–१४ मा फेरि “युरोमैदान आन्दोलन” भयो, जसले राष्ट्रपति यानुकोभिचलाई हटायो । तर, त्यसपछिका घटनाले भने रुसको हस्तक्षेप निम्त्यायो, क्रिमिया गुम्यो, डोनबासमा युद्ध सुरु भयो अनि युवाहरूको सपना पनि राजनीतिक खेल र बाह्य शक्तिको “बलिको बोका” बन्यो ।
यी सबै आन्दोलन र विद्रोहहरू एउटै कठोर यथार्थमा जोडिन्छन् । जब युवाहरू न्याय, समानता र स्वतन्त्रताको सपना देखेर उठ्छन्, उनीहरूलाई प्रायः धोका दिइन्छ । कहिले आफ्नै नेताबाट, कहिले सहमतिका नाममा सम्झौतापरस्त समूहबाट, त कहिले प्रतिगामी शक्तिबाट । सुरुमा स्वागत गरिएजस्तो देखिन्छ, तर पछि “फुटाउ अनि राज गर” रणनीति अपनाएर दमन गरिन्छ । कतै क्रान्तिले ल्याएका उपलब्धि तुरुन्तै उल्टाइन्छन् भने कतै त्यो सपना रगत बगाएर पुछिन्छ । तर, ती सबै धोका, पराजय र दमनका बाबजुद पनि युवाहरूले हरेक पुस्तामा प्रश्नको बीउ रोपेका छन, व्यवस्था हल्लाएका छन र परिवर्तनको सम्भावना जीवितै राखेका छन । क्रान्ति तत्काल सफल नहुन सक्छ, तर त्यसको गहिरो असर भविष्यमा बिस्तारै देखिन सक्छ । जब युवाहरूको आवाज दबाउन खोजिन्छ, त्यो आवाज इतिहासमा झनै चर्को स्वरमा पटक–पटक गुञ्जिरहन्छ ।











प्रतिक्रिया