काठमाडौं।
४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजनाले स्थानीय जेन–जी समूहलाई १० प्रतिशत सेयर दिने भएको छ । गत भदौ २५ गतेदेखि स्थानीय समूहले ‘जेन–जी’ नाममा १० प्रतिशत सेयर निःशुल्क माग्दै आयोजना बन्द गराएका थिए । एक महिनासम्म अवरुद्ध भएपछि असोज २६ गते प्रमुख जिल्ला अधिकारी, ऊर्जा मन्त्रालयका अधिकारी, गाउँपालिका प्रतिनिधि र आयोजनाका पदाधिकारीबीच भएको छलफलपछि सहमति कायम भएको हो ।
सहमतिअनुसार आयोजनामा स्थानीयले १९ करोड रुपियाँबराबरको सेयर पाउने भएका हुन् । स्थानीयहरूले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा सेयर खरिद पाउने भएका हुन् । पहिले ६ प्रतिशत सेयर दिने सम्झौता भएको थियो । तर, अहिले ४ प्रतिशत थप गरी कूल १० प्रतिशत सेयर दिने निर्णय गरिएको छ । उक्त सेयर खरिदका लागि स्थानीयहरूले स्थापना गरेको ‘भोटेकोसी जेन–जी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड’ नामक कम्पनीले बैंकबाट ऋण लिनेछ, जसको जमानीको जिम्मेवारी आयोजनाले लिने सहमति भएको छ। ऋणको साँवा–ब्याज एक वर्षभित्र वितरण हुने सेयर लाभांशबाट तिर्ने व्यवस्था गरिएको छ ।
सरकारी अधिकारीहरुले सेयर सित्तैमा नभई खरिद सर्तमा दिने सहमति भएको दाबी गरेका छन् । तर,सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकाका स्थानीयले भन्ने सेयर बाँडफाँट कसरी हुने भन्ने विषयमा अझै टुंगो नलागेको बताएका छन् । यस्तै, भोटेकोसी पावरले सामाजिक उत्तरदायित्वअन्तर्गत दिँदै आएको रकम थप गरी वार्षिक दुई करोड ५० लाख रुपियाँ गाउँपालिकालाई दिने सहमति भएको छ । जेन–जी समूहका नाममा सिन्धुपाल्चोकका अन्य आयोजनाहरू माथिल्लो बलेफी ‘ए’ (३६ मेगावाट), सोलाङ खोला (९९० किलोवाट), घट्टे खोला (९९० किलोवाट), याम्बलिङ खोला (७.२ मेगावाट) र माथिल्लो बलेफी हाइड्रोपावर (४६ मेगावाट) मा समेत निःशुल्क १० प्रतिशत सेयर माग्दै पत्र पठाइएको छ।
भोटेकोसी पावर कम्पनी सन् २००१ देखि उत्पादनमा आएको वैदेशिक लगानीयुक्त आयोजना हो, जसलाई सन् २०३० सम्म सञ्चालनको अनुमति छ। हालको सहमतिपछि लामो समय अवरुद्ध आयोजना पुनः सञ्चालनमा आएको छ ।











प्रतिक्रिया