नीर शाहको जन्म दिनमा उनकै परानको टिजर


ख्यातिप्राप्त अभिनेता नीर शाहले अभिनय गरेको फिल्म परानको आइतबार उनको जन्मदिनको अवसर पारेर काबिक टिजर सार्वजनिक गरिको छ।
आगामी कार्तिक १४ गते रिलिज हुने फिल्मको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ।

कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार नीर शाहको मनोभावना प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तराद्र्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरेका छन्।

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै उसलाई जसरी हुर्काइयो बढाइयो, एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने भावना व्यक्त गरिएको छ।

जलाउनुअघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।

चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
बा“च्नको लागि छोराले मलाई लडाइँ छोड्दैन।

यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।

कवि पराजुलीले सो मनोभावनालाई यसरी उधिनेका छन्।
टिजरका यी शब्द फिल्मका प्रमुख कलाकार नीर शाहमार्फत व्यक्त गर्दै मुख्य रूपमा फिल्माइएको छ। त्यहाँ उनीसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायतका कलाकारलाई पनि प्रस्तुत गरिएको छ। यो पोएटिक टिजरले दर्शकहरूलाई फिल्मको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।

टिजरले फिल्ममा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ।

हास्य टेलिसिरियल सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को डेब्यु निर्देशनमा बनेको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।

रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका छन्।