जग्गा विवादका कारण रौतहटमा ६० वर्षीय वृद्धको मृत्यु

1.22k
Shares

रौतहट।

रौतहटको फतुवा विजयपुर नगरपालिका–२ सितलपुर टोलमा जग्गा विवादका कारण दुई पक्षबीच भएको झडपमा एक ६० वर्षीय वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर–२ का ५० वर्षीय कपिलदेव यादव, ४० वर्षीय विनोद यादव र सोही स्थानका ६० वर्षीय शंकर साह बनियाँ बीच जग्गा सम्बन्धी विवाद हुँदा झडप भएको हो।

झडपमा गम्भीर घाइते भएका बनियाँको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

सो घटनामा कपिलदेवकी ४० वर्षीया श्रीमती मिना देवी घाइते भएकी छन्। उनको शरीरमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। महतोका अनुसार झडपमा संलग्न विनोद भन्ने हरिदेव यादव, ब्रह्मदेव यादव र उनका २० वर्षीय छोरा सुरेश यादव हाल फरार छन्। फरार व्यक्तिहरुको खोजी कार्य तीव्र रूपमा भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। मृतक बनियाँको शव सोही अस्पतालमै राखिएको छ।