जेनजीलाई गोली हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग


काठमाडौँ।

जेनजी नेता जनक परियारले जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिनेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परियारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्नै आन्दोलनकारीहरूलाई बेवास्ता गरेको गुनासो गरे। उनले भने, “हामीले सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठायौँ, तर अहिले भ्रष्टाचारीहरू नै खुलेआम हिँड्न थालेका छन्।”

परियारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित गोली चलाउन आदेश दिनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग दोहोर्‍याए। साथै, २०४६ सालपछि उच्च पदस्थ राजनीतिज्ञ र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र जेनजीहरूलाई मन्त्रिपरिषद्मा प्रतिनिधित्व दिलाउनुपर्ने मागसमेत राखे।

उनले भने, “यदि हाम्रो आवाज सुन्ने प्रयास भएन भने हामी पुनः सडकमा निस्कन बाध्य हुनेछौँ।”

जेनजी आन्दोलनका नेताहरूले हालका दिनमा आन्दोलनका मागहरू बेवास्ता गरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।