काठमाडौं ।
काठमाडौँको कपनस्थित पैयुटार पानी फ्याक्ट्री नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने पासाङ मिङ्मा शेर्पा रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार गए राति कपन पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको बा ८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटो किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । सो दुर्घटनामा चालक शेर्पा गम्भीर घाइते भएका थिए ।
उनीलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको थियो । तर, उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया