काठमाडौं ।
झापा जिल्लाको दमक नगरपालिका–५ धनेश्वर मन्दिर नजिक बेवारिसे अवस्थामा एक थान ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान मन्दिरको पूर्वपट्टि रहेको गेट नजिक बन्दुक देखेपछि तत्काल इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए ।
जानकारी प्राप्त लगत्तै प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपछि फेला परेको सो हतियार गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार उक्त राइफल म्यागजिनसहित भेटिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी कार्यालयमा सुरक्षित राखिएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने,–सुरक्षा चुनौती बनेका लुटिएका हतियारमध्ये एउटा फिर्ता पर्नु सकारात्मक संकेत हो । बाँकी हतियार खोजीका लागि हाम्रो टोली सक्रिय छ ।
जेन्जी आन्दोलनको नाममा देशका विभिन्न ठाउँमा भएका हिंसात्मक गतिविधिबाट प्रहरीका हातबाट लुटिएका हतियारको खोजी कार्य जारी छ । प्रहरीका अनुसार हालसम्म देशभरबाट लुटिएका १२ थान हतियार फिर्ता परिसकेका छन् भने अझै करिब तीन दर्जन हतियार फरार प्रदर्शनकारी र आपराधिक समूहको कब्जामा रहेको अनुमान गरिएको छ ।
स्रोतका अनुसार, लुटिएका हतियारमध्ये अधिकांश ३०३ राइफल, इन्सास, एसएमजी र शटगन लगायतका रहेका छन् । केही हतियार सीमावर्ती क्षेत्रमा वेपत्ता भएको शंका गरिएको छ ।
सुरक्षा निकायका एक अधिकारीका अनुसार, हतियार फिर्ता हुने क्रम देखिनु समाजमा सुरक्षाप्रतिको विश्वास पुनःस्थापित हुने संकेत हो । उनले भने, प्रहरीसँगै स्थानीयको सहयोगले अब बाँकी हतियार पनि फिर्ता हुने अपेक्षा गर्न सकिन्छ ।
यसैबीच, गृह मन्त्रालयले सबै प्रदेश प्रहरी कार्यालयलाई लुटिएका हतियार फिर्ता अभियानलाई तीव्र पार्न निर्देशन दिएको छ । नागरिकले शंका लाग्ने वस्तु वा बेवारिसे हतियार देखेमा तुरुन्त नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरिएको छ । स्रोतका अनुसार हालसम्म १२ थान लुटिएका हतियार फिर्ता, ३५ भन्दा बढी अझै हराइरहेका छन् ।











प्रतिक्रिया