२४ गतेको विध्वंसमा वाह्य शक्तिको हात : प्रचण्ड


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गतेको जेन–जीको आन्दोलन पवित्र भए पनि २४ गतेको विध्वंसमा वाह्य शक्तिको हात रहेको प्रस्ट पार्नुभएको छ । शुक्रवार प्रेस सेन्टर नेपालले सम्पादकहरूसँग आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले २४ गते बिहानसम्म रियल जेन–जीहरू आन्दोलनलाई सकारात्मक र रचनात्मक बनाउने कोसिसमा रहे पनि ११÷१२ बजेपछि उनीहरूको हातबाट सबै चिज अर्को ठाउँमा पुगेको र विध्वंसतिर गएर नेपालको इतिहासमै सबभन्दा ठूलो विध्वंस भएको बताउनुभयो ।

प्रचण्डले त्यसका दोषीहरूलाई अनुसन्धान गरेर, उच्चस्तरीय छानबिन गरेर कारबाही गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले त्यो विध्वंसका पछाडि लामो तयारी र योजना रहेको दाबी गर्नुभयो । संयोजक प्रचण्डले जेन–जी विद्रोहलाई आफूहरूले युवाहरू र नेपाली जनताको पनि सरकारप्रति, राज्यप्रति, पार्टीहरूप्रति असन्तुष्टिको अभिव्यक्तिका रूपमा एउटा आन्दोलनका रूपमा लिएको र त्यो पवित्र र महान रहेको स्पष्ट पार्नुभयो । त्यस दिन भएको नरसंहार दुखद् र भत्र्सनायोग्य रहेको बताउँदै उहाँले महान सहिदको सपना सकार पार्नुपर्नेमा जोड दिनुभयो ।

प्रचण्डले देश अत्यन्तै संकटपूर्ण अवस्थामा रहेकाले संकट समाधानको निम्ति सर्वपक्षीय राजनीतिक सहमति आवश्यक रहेको र त्यसमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, राष्ट्रिय जीवनमा योगदान गरेका त्यस्ता व्यक्तित्वहरू समेतको राष्ट्रिय, राजनीतिक सहमतिको निम्ति राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत उपयुक्त निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

संयोजक प्रचण्डले आगामी दिनमा वास्तविक जेन–जीलाई विश्वासमा लिएरमात्रै फेक जेन–जीलाई एक्सपोज गर्न सकिने बताउनुभयो । उहाँले आफूलाई भूराजनीतिक शक्ति सन्तुलनले बचाएको स्पष्ट पार्नुभयो । उहाँले सेनाले नेताहरूलाई सुरक्षा दिएर बचाए पनि सिंहदरबार, संसद्, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय बचाउन नसक्दा सेनाप्रति प्रश्न उठेको बताउनुभयो ।

हामीलाई सेनाले बचाएको हो कि ? हामीलाई जनताले बचाएको हो कि ? हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि ? कसले बचायो ? अल्टिमेटली हेर्दा त सेनाले बचायो । ‘तर हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन ? सर्वोच्च अदालत किन बचाउन सकेन ? राष्ट्रपति भवन किन बचाउन सकेन ? भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ । बडो विचित्र लाग्छ’ –प्रचण्डले सम्पादकहरूसँग भन्नुभयो ।

माओवादीका संयोजक प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीको लिखित सिफारिसका आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएकाले ओलीले सरकारलाई हाहुको सरकार भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।