इम्पेरियल सेक्युरिटिजद्वारा महिला भलिबल टिमलाई जर्सी प्रायोजन


काठमाडौँ । 

इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नं ४५ ले नेपाली राष्ट्रिय महिला भलिबल टिम (सिनियर र जुनियर) का लागि जर्सी प्रायोजन गर्ने भएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच दुई वर्षको प्रायोजन सम्झौता भएको हो।

सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट अध्यक्ष भक्तिराम घिमिरेले हस्ताक्षर गरे। सम्झौताअनुसार इम्पेरियल सेक्युरिटिजले नेपाली महिला राष्ट्रिय भलिवल टिमका सिनियर तथा जुनियर दुवै समूहका खेलाडीले लगाउने जर्सीमा प्रायोजन गर्नेछ।

दुई वर्षका लागि वार्षिक २० लाख रुपैयाँका दरले गरी ४० लाख रुपैयाँको प्रायोजन सम्झौता गरिएको छ। साथै, नेपाल भलिवल संघले सिफारिस गरेको आधारमा प्रत्येक वर्षको उत्कृष्ट उदीयमान खेलाडीलाई १ लाख रुपैयाँको नगद पुरस्कार पनि इम्पेरियल सेक्युरिटिजले प्रदान गर्नेछ।

उक्त कार्यक्रममा महिला टिमले लगाउने सेतो र निलो रंगका दुई थरी जर्सी जसको अग्र भागमा इम्पेरियल सेक्युरिटिजको लोगो अंकित जर्सी सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चुडामणि चापागाईं, सी डि एस सी का प्रबन्ध निर्देशक प्रविन पन्दाक, नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा हाइलाईफ एग्रो एण्ड फूड इन्डस्ट्रिज लि का अध्यक्ष श्री अम्बिका प्रसाद पौडेल, स्टक ब्रोकर्स एसोसियसनका अध्यक्ष सागर ढकाल लगायतका बक्ता हरुले इम्पेरियल सेक्युरिटिज को यस सामाजिक कार्यको प्रशंसा गर्दै यस प्रायोजन सम्झौताले नेपाली महिला भलिबल खेलको विकास, प्रोत्साहन र खेलाडीको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विस्वास व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा हाइलाईफ एग्रो एण्ड फूड इन्डस्ट्रिज लि को तर्फ़बाट अध्यक्ष श्रीअम्बिका प्रसाद पौडेलले बिहानी खाजाको रुपमा प्रयोग गरिने हाइलाईफ ब्रान्डको मुसुली, ओट्स, कर्नफ्लेक्स, चियासिड सहितको गिफ्ट प्याक पनि प्रदान गर्नुभएको थियो १ अध्यक्ष श्री पौडेलले आगामी राष्ट्रिय महिला भलिवल खेलको दौरानमा खेलाडीहरुलाई हाइलाईफका पोषिलो खाजा वितरण गर्ने तथा अन्तरराष्ट्रिय खेलमा बिजय हासिल गरेको खण्डमा बिजयी टिमलाई दुइ लाख पुरस्कार वितरण गर्ने घोषणा समेत गर्नुभएको थियो ।