दोस्रो सातामा चलिरहेको फिल्म माइतीघरको निर्माण टिमले आयोजना गरेको शीर्ष गीत वसन्त नै बस्न खोज्छ यहाँ लोलाएरको भिडियो प्रतियोगिताका विजेताको नाम घोषणा गरिएको छ।
विजेताको भिडियो फिल्ममा नै समावेश गरिएको छ। गीतमा भिडियो तयार पारेका हजारभन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो। निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन्। दुवै विजेता बुटवलका छन्।
बुटवलका सुरज सिंजाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाको समूहले भिडियो प्रतियोगिता जितेका हुन्।
दुई विजेताले समान अंक ल्याएका कारण दुवैलाई विजेता घोषणा गरिएको निर्माणपक्षले जनाएको छ। विजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ। ‘यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको प्रतिस्पर्धा निकै नै कडा भयो। यसैले, निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ। अब, हामी दुवै समूहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौँ’ निर्माता रोहित अधिकारीले जानकारी गराए।
मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा केदार प्रसादघिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया