काठमाडौँ।
भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध परेको जाहेरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता पठाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता पठाएको जानकारी दिएको हो।
आयोगको आज बसेको बैठकले कुनै पनि अपराधको जाहेरी लिएर अनुसन्धान अघि बढाउने कार्य आयोगको नभएर प्रहरीकै भएको निष्कर्ष निकालेको हो।
फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले जाहेरी फिर्ता पठाइएको आयोगका सदस्य विज्ञानराज शर्माल बताए ।
‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन। फौजदारी कसुरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानुनले अख्तियारी प्रदान गरेको विदितै छ। फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तिको प्रतिलिपिसाथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइदिने।’बैठकको निर्णयबारे आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।













प्रतिक्रिया