मैझारोको साकेला नाचौँ


लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित फिल्म मैझारोमा समावेश साकेला नाचौँ बोलको गीत रिलिज गरिएको छ ।


राजेश पायल राई र मेलिना राईको स्वर रहेको गीतमा शब्द रचना पदम साधना कुलुङ र संगीत तोरेम्पाहाङ राईको रहेको छ। ओएसआरको युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा दुई जोडी कलाकारले नाचेका छन्। भिडियोमा दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगरले छमछमी साकेला नाचेका छन्। नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले पर्वको रूपमा साकेला नाच राख्दै आएका छिन्।

किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नृत्य गर्ने गर्दछन्।फिल्ममा कथाअनुसार नै गीत मिलाइएको निर्माण पक्षको दाबी छ। गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्। लोकप्रिय हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशनमा बनेको फिल्ममा नेपाली मौलिक प्रेम कथा प्रस्तुत गरिएको जनाइएको छ। धिरज र मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बूलगायतका कलाकारले अभिनय गरेको फिल्म तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् भने राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारीलगायतको स्वर तथा सौरभ लामाको छायाँकन रहेको छ। फिल्म आगामी कार्तिक ७ गते अल नेपाल रिलिज हुनेछ।