केही अघि ज्यान गुमाएका भारतीय गायक जुबिन गर्गको मृत्युको घटना शंकास्पद भेटिएसँगै आसाम प्रहरीले बुधबार डीएसपी संदीपन गर्गलाई पक्राउ गरेको छ।
नाताले जुबिन गर्गका दाइ पर्ने उनी दुर्घटनाको समयमा सिंगापुरमा जुबिनसँगै थिए। संदीपनसहित यस घटनामा पाँच जना पक्राउ परिसकेका छन्। यसअघि नर्थ इष्ट इण्डिया फेस्टिभलका आयोजक श्यामकानु महन्त, उनका म्यानेजर सिद्धार्थ शर्मा र ब्यान्ड सदस्य शेखर ज्योति गोश्वामी र अमृत प्रभा महन्त पक्राउ परेका थिए।
१९ सेप्टेम्बरमा सिंगापुरमा निधन भएका जुबिन् २० सेप्टेम्बरमा हुन लागेको फेस्टिभलमा सहभागी हुन सिंगापुर पुगेका थिए । उनको वाटर एडभेन्चर एक्टिभिटीका क्रममा मृत्यु भएको प्रारम्भिक दाबी गरिएको थियो ।
तर ब्यान्डमेट शेखर ज्योति गोश्वामीले म्यानेजर शर्मा र आयोजक महन्तमाथि जुबिनलाई विष दिएर हत्या गरी दुर्घटनाजस्तो देखाउने षड्यन्त्र रचेको आरोप लगाएका थिए्। उनका अनुसार शर्माले याटको चालक हटाएर याट आफैं नियन्त्रणमा लिएका थिए। शेखर ज्योतीका अनुसार जुबिन राम्रो पौडीबाज भएकाले उनको मृत्यु डुबेकै कारण हुन नसक्ने र उनलाई विष दिएर हत्या गरेर दुर्घटनाका कारण मृत्यु भएको जस्तो देखाउने षडयन्त्र रचिएको थियो।
साथै शेखर ज्योतीले जुबिनसँगै सिंगापुरको होटलमा बसेका म्यानेजर शर्माले जुबिनको मृत्युको केही दिन अघिदेखि नै अचम्मको व्यवहार देखाउँदै आएका थिए। उनका अनुसार म्यानेजर शर्माले उनलाई पेय पदार्थ पिलाएका थिए। जसका कारण जुबिनलाई श्वास फेर्न गाह«ो भएको अवस्थामा पनि उनी जान दे जान दे भन्दै चिच्याइरहेका थिए। अनुसन्धानका क्रममा मोबाइल भिडियो प्रमाण पनि भेटिएको छ, जसमा जुबिनसँग ब्यान्डमेट गोस्वामी पौडी खेलिरहेका देखिन्छन्।
त्यस्तै गायककी पत्नी गरिमा गर्गले पोस्टमार्टम रिपोर्ट प्रहरीलाई फिर्ता दिँदै आफू अनुसन्धानमा विश्वास रहेको बताएकी छन्। उनले जुबिनलाई पहिला पनि हृदयघात भएको र उनको मृत्यु डुबेर नभई हृदयघातकै कारण भएको बताएकी छन्।
भारतको स्पेशल इन्भेष्टिगेसन टिमले जनाएअनुसार आसाम राज्यभर जुबिनको मृत्यु प्रकारणको छानबिनका लागि ६० भन्दा बढी एफआईआर दर्ता भएका छन् र १० जनामाथि अनुसन्धान चलिरहेको छ। हाल गुवाहाटीमा जुबिनको दोस्रो पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ भने भिसेरा नमुना दिल्लीको सेन्ट्रल फरेन्सिक ल्याबमा पठाइएको छ।
१८ नोभेम्बर १९७२ मा असममा जन्मिएका जुबिन् आसामका प्रसिद्ध गायक, संगीतकार, गीतकार र अभिनेता हुन्। उनले हिन्दी, बंगाली, नेपालीसहित ४० भन्दा बढी भाषामा करिब ३८ हजार गीत गाएका थिए । उनी आसामका सबैभन्दा बढी पारिश्रमिक पाउने कलाकार मध्येका थिए ।











प्रतिक्रिया