फिफा र एडिडासले सन् २०२५ अक्टोबर २ मा २०२६ को फिफा विश्वकपका लागि आधिकारिक बल सार्वजनिक गरिसकेको छ । ‘ट्रियोन्डा’ नाम दिइएको यस बलको नाममा “ट्रि” शब्दले तीन आयोजक राष्ट्र क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दछ भने “ओन्डा” ले स्पेनी तथा पोर्चुगिज भाषामा ‘तरंग’ भन्ने अर्थ जनाउँछ । यसले विश्वकप इतिहासमै पहिलोपटक तीन देशद्वारा सह–आयोजित प्रतियोगिताको भावनात्मक र सांस्कृतिक महत्वलाई उजागर गरेको छ । यो एडिडासद्वारा निर्मित लगातार १५ औँ विश्वकप बल हो, जसले सन् १९७० मा सुरु भएको फिफा–एडिडास सहकार्यलाई निरन्तरता दिएको छ । सन् २०२६ को विश्वकप अन्तर्गत हुने १०४ चार खेलमा यही बल प्रयोग गरिनेछ ।
ट्रियोन्डाको डिजाइन अत्यन्तै जीवन्त र आकर्षक छ । जसले आयोजक राष्ट्रहरूको राष्ट्रिय पहिचानलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छ । क्यानाडालाई रातो रङबाट प्रतिनिधित्व गरिएको छ, जसमा यसको राष्ट्रिय प्रतीक मेपल पात समावेश गरिएको छ । मेक्सिकोको लागि हरियो रङको प्रयोग गरिएको छ, जसमा आज्टेक सभ्यताबाट प्रेरित गरुडको चित्रण छ । संयुक्त राज्य अमेरिकालाई भने निलो रङमार्फत चिनाइएको छ, जहाँ बलको सतह ताराहरूले सजाइएको छ । बलमा समावेश गरिएको स्वल्र्ड ग्राफिक्सले तरंग र गति झल्काउँछ, जसले बलको नामसँग प्रत्यक्ष सम्बन्ध दर्शाएको छ । केन्द्रमा रहेको त्रिकोणीय आकृतिले तीन राष्ट्रबीचको एकता र सहकार्यको संकेत गरेको छ । साथै, सुनौलो रंगका सजावटहरूले फिफा विश्वकप ट्रफीप्रतिको सम्मान प्रकट गरेको छ ।
यो बल विशेष प्रविधिमा आधारित चारवटा प्यानलबाट बनेको छ । जसमा डिबोसेड (भित्र धसिएका) र एम्बोसेड (बाहिर उठेका) रेखा तथा चिन्हहरू प्रयोग गरिएको छ । यी सूक्ष्म विवरणहरूले बललाई दृश्य र स्पर्शीय दुवै दृष्टिकोणबाट प्रभावशाली बनाएको छ । फिफाले यस बललाई “सबैभन्दा दृश्यात्मक रूपमा खेलौनाजस्तो” भनी व्याख्या गरेको छ । जसले खेलाडीहरूलाई हातमा समाउँदा पनि रमाइलो अनुभव प्रदान गर्छ । प्रविधिको दृष्टिकोणबाट हेर्दा, ट्रियोन्डा हालसम्मकै सबैभन्दा उन्नत बल हो । यसको संरचनाले बललाई हावामा अत्यन्त स्थिर उडान प्रदान गर्छ, जसले सन् २०१० को जबुलानी बलमा देखिएको अनपेक्षित स्वर्लिङ र डिपिङ समस्या समाधान गर्ने दाबी गरिएको छ ।

बलको सतहमा रहेका एम्बोसेड चिन्हहरूले आद्र्र मौसममा समेत उत्कृष्ट पकड दिन्छन् । यसमा जडान गरिएको उच्च गतिको मोशन सेन्सर (५०० हर्ज) ले बलको गति, स्थान र घुमाइसम्बन्धी वास्तविक समयको डेटा भिडियो एसिस्टेन्ट रेफ्री (भार) प्रणालीमा पठाउँछ, जसले अफसाइड लगायतका निर्णयलाई अधिक छिटो र सटिक बनाउन सघाउ पु¥याउँछ । साथै, थर्मल बन्डिङ प्रविधिबाट तयार गरिएको प्यानलले बललाई पूर्ण गोलाकार, जलरोधक तथा दीर्घकालीन टिकाउ बनाएको छ । ट्रियोन्डाको विकासले फिफा बलहरूको प्रविधिगत यात्रालाई पनि प्रतिबिम्बित गर्छ । सन् १९५० को सुपरबल डुप्लो–टी बाट सुरु भएको यो यात्रामा सन् १९७० को टेलस्टारले पहिलोपटक कालो र सेतो धब्बा मिश्रित डिजाइनमार्फत निर्मित बलले टेलिभिजन प्रसारणलाई सहज बनायो । त्यसपछिका दशकहरूमा टाङ्गो एस्पाना (१९८२) मा कृत्रिम सामग्रीको प्रयोग, एट्रुस्को युनिको (१९९०) मा फोम तहको समावेशीकरण र जबुलानी (२०१०) को विवादास्पद एरोडाइनामिक्स देखिएका थिए ।
ट्रियोन्डा भने ती सबै अनुभवको सन्तुलनसहितको परिष्कृत संस्करणको रूपमा प्रस्तुत भएको छ । यस बलको सार्वजनिक न्यूयोर्कस्थित न्यु जर्सीमा आयोजित भव्य समारोहमा सम्पन्न भएको थियो । जसले विश्वकपको काउन्ट डाउनलाई औपचारिक रूपमा सुरु गराएको छ । फाइनल ड्र सन् २०२५ डिसेम्बर ५ मा वाशिङ्टन डिसीमा तय गरिएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उद्घघाटन समारोहमा सन २०२६ फिफा विश्वकपको आधिकारिक बल साँचिक्कै सुन्दर रहेको बताएका छन । उनले एडिडासले फेरि पनि एक अद्वितीय बल निर्माण गरेको र आयोजक राष्ट्रहरूको एकता र उत्साहलाई प्रतिबिम्बित गरेको बताएका छन । ट्रियोन्डाको आगमनले विश्वभरका फुटबलप्रेमीहरूमा उत्साहको नयाँ तरंग पैदा गरिदिएको छ । अब सबैको नजर यसको वास्तविक प्रदर्शनमा केन्द्रित हुनेछ । जुन सन् २०२६ को गर्मीयाममा विश्वकपका मैदानहरूमा परीक्षण हुने नै छ ।











प्रतिक्रिया