सिटिजन्स क्यापिटलद्वारा २८ करोड बढी लाभांश वितरण शुरू


काठमाडौँ ।

सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको आम्दानीसमेत गरी कुल २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको लाभांश वितरण शुरू गरेको छ । कम्पनीले आज २०८२ असोज २० गते जारी गरेको विज्ञप्तिमार्फत लाभांश वितरण शुरू गरेको जानकारी गराएको हो ।

विज्ञप्ति अनुसार, सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित विभिन्न योजनाबाट लाभांश वितरण गरिएको छ । सिटिजन्स म्युचुअल फण्ड–२ बाट करसहित ८.२५% को दरमा ४ करोड ६२ लाख रुपियाँ बराबरको नगद लाभांश वितरण गरिएको छ भने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाट करसहित १२.७५% को दरमा रु. ९ करोड ५७ लाख १७ हजार २९७ बराबरको नगद लाभांश वितरण भएको छ। यी दुवै योजनाबाट लाभांश वितरण २०८२ भदौ २० गतेदेखि सुरु गरिएको हो ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ मिति २०८१ माघ १९ गते परिपक्व भई खुद सम्पत्ति मूल्य रु. ११.३० कायम भएको थियो। सो फण्डमार्फत अन्तिम वर्षमा १३% नगद लाभांशसहित कुल रु. ९२ करोड ६६ लाख ३ हजार ७२३ बराबरको वितरण २०८२ जेठ २७ गतेदेखि भइरहेको कम्पनीले जनाएको छ।

यससँगै, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पनि रु. ३ करोड २० लाख बराबरको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरेको छ ।

कम्पनीले अझै लाभांश बुझ्न बाँकी रहेका इकाइधनीहरुलाई आफ्नो बैंक खाता अद्यावधिक गरी छिट्टै सम्पर्क गर्न आग्रह गरेको छ ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन, म्युचुअल फण्ड सञ्चालन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धनलगायतका सेवा प्रदान गर्दै आएको छ। कम्पनीको अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।