बाराको जितपुर–सिमरामा बसको ब्रेक फेल, दुईजनाको मृत्यु, चार घाइते


काठमाडौ ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान जनकपुरबाट काठमाडौं जाँदै गरेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको छ।

ना ५ख ८५३७ नम्बरको बस ब्याक हुँदा दुईवटा मोटरसाइकल किचिएर बारा फेटाका २५ वर्षीय मकेश्वर पटेल र पर्साकी २६ वर्षीया कविता देवीको मृत्यु भएको हो।

दुर्घटनामा चार जना घाइते भएका छन्, जसमा दुई साना बालबालिकासहित मकेश्वरकी पत्नी र अर्को मोटरसाइकल चालक परेका छन्।

घाइतेहरूको उपचार मकवानपुरको सहकारी अस्पतालमा भइरहेको छ। बस चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केही समय रोकिएको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।