तिहारको भाइटीकामा रिलिज हुने फिल्म वरिष्ठ बलरामको दुई पोस्टर सार्वजनिक गरिएको छ।सुरेन्द्र पौडेलको निर्देशनमा बनेको वरिष्ठ बलरामको पहिलो पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन्। दयाहाङ र विजयलाई मुख्य स्थान दिइएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि समेटिएको छ। थोरै बडी पार्टमा देखिएका दयाहाङ सोचमग्न छन्।
विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहेका छन्। समृद्धि अर्याल भने दन्तलहरसहितको मुस्कानमा देखिएकी छन्। मुख्य तीन कलाकार दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकार पनि छन्। उनीहरू तीनवटा बाइकमा कसैलाई पिछा गरिरहेका छन्। एउटा बाइक भने विजय स्वयंले चलाएका छन् भने अर्को बाइक मधेसीको गेटअपमा प्रदीप चौधरीले चलाइरहेका छन्।
अर्को पोस्टरमा मुख्य कलाकारद्वय दयाहाङ र विजय छन्। जसमा यी दुई एकअर्काविरुद्ध उत्रिएका छन्। घम्साघम्सी गरिरहेको यो पोस्टरले उनीहरू दुई आप्mनो अस्तित्वका लागि संघर्ष गरिरहेको प्रष्ट पार्छ। पृष्ठभूमिमा राजमार्ग छ। जहाँ टिपर कुदिरहेका छन्।
दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारले अभिनय गरेको फिल्ममा निर्देशक पौडेलकै कथा र सम्पादन, पटकथा महेश दवाडी, संगीत प्रशान्त शिवाकोटीको संगीत, एक्सन सम्राट बस्नेत, नृत्य निर्दिेशन प्रदीप लामा र छायांकन मनकृष्ण महर्जनको रहेको छ। वृषभ सिद्धि इन्टरटेनमेन्ट र आन्भी फिल्म्स्को व्यानरमा आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेको फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ।











प्रतिक्रिया