जेन–जीको आवाजसँग मेल खाने हरिबहादुरको जुत्ता


ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवश आचार्यले भोलि सोमबार फूलपातीको दिनबाट रिलिजमा आउने फिल्म हरिबहादुरको जुत्ता अहिलेको युवा पुस्ताले उठाएको आवाजका विषयमा बनेको दाबी गरेका छन्।
‘यसको कथा करिब १ वर्ष अगाडि तयार भएको हो।

अहिलेको युवा पुस्ताले जे माग राखेर आवाज उठाउनुभयो, त्यही नै हाम्रो फिल्मको पनि कथा हो। हाम्रो फिल्म केही समय अगाडि नै तयार भएर सेन्सरसमेत पास भैसकेको छ। यो फिल्मलाई दुई महिनापछि प्रदर्शन गरेको भए दर्शकले जेन–जीले उठाएको विषयमा फिल्म बनाएछन् भनिन्थ्यो होला, तर अहिले नै प्रदर्शन हुने भएकाले हामीले उठाएको विषय हरेकको मनमा रहेछ भन्ने प्रमाणित हुने छ’ हरिवंशले ललितपुरमा आयोजित भेटघाट कार्यक्रममा फिल्मको कन्टेन्ट र जेन–जीको आवाज मिल्नुलाई संयोग भएको जनाउ“दै भने ‘जेन–जी आन्दोलनमा पनि एउटा जुत्ता सांकेतिक प्रतीक बनेको थियो र यो फिल्ममा पनि जुत्ता सांकेतिक रूपमा रहेको छ।

यो संयोग आफनामा गज्जबको छ।’ अभिनेता आचार्यका अनुसार जेन–जीले उठाएको भ्रष्टाचारको विषयमात्र नभई नेपोटिजमको कुरालाई पनि फिल्मले सशक्त ढंगले चित्रण गरेको छ।
उनले फिल्ममा कमेडी मात्र नभएको पनि प्रष्ट्याए। ‘हामीले फिल्मको ट्रेलर रमाइलो ढंगबाट काटेका छौ“, तर फिल्म पूर्ण कमेडी हैन। दर्शकले ट्रेलर हेरेपछि यो फिल्मले केही गहन विषय उठाएको महसुस गरेको छु’ उनले भने।

रिलिजको पूर्वसन्ध्यामा फिल्ममा समावेश सुन्तली माई बोलको गीत सार्वजनिक गरिएको छ। मोहितवंश आचार्य र समीक्षा अधिकारीको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द रचना, वसन्त सापकोटाको संगीत र कुशल सिंहको एरेन्जमेन्ट रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउतलगायतका कलाकारलाई फिचरिङ गरिएको छ। फिल्मका प्रमुख कलाकार पनि प्रस्तुत भएका छन्।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको भिडियो कृष्ण बहादुर थापाले खिचेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन्।

दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारकाले अभिनय गरेका छन्। फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।