काठमाडौँ
मिति सेप्टेम्बर २६ गते, रोटरी एक्सन ग्रुप ले केन्द्रीय ट्राफिक प्रहरी कार्यालय मा आरओ (रिभर्स ओस्मोसिस) पानी प्रशोधन प्लान्ट पुन:स्थापना गरेको छ। यो महत्त्वपूर्ण योगदानले दैनिक रूपमा कार्यालयमा कार्यरत ४०० भन्दा बढी ट्राफिक प्रहरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनेछ।
केही समयअघि भएको जेन-जी आन्दोलनका क्रममा पुरानो पानी प्रशोधन प्लान्टमा क्षति पुगेको थियो, जसले गर्दा कार्यालयमा पानीको समस्या भएको थियो। प्रहरी कर्मचारीहरूलाई स्वच्छ पिउने पानीको सुनिश्चितताका लागि ‘युनाइट फर गुड’ भन्ने रोटरीको भावना अनुरूप १३ वटा रोटरी क्लबका अध्यक्षहरू एकजुट भएर कोष जुटाएका थिए। यसरी जुटाइएको कोषमार्फत भत्किएको आरओ प्लान्ट मर्मत, स्तरोन्नति र पुन:स्थापनाको कार्य सम्पन्न भएको हो।
रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका अध्यक्ष रोटेरियन अमोल प्रधानले जानकारी गराएअनुसार, यो परियोजना रोटरीको सामुदायिक सेवाप्रतिको प्रतिबद्धताको एउटा उदाहरण हो। उहाँले १३ वटा क्लबका अध्यक्षहरूको सामूहिक प्रयासले ट्राफिक प्रहरीजस्तो महत्त्वपूर्ण संस्थालाई सहयोग पुर्याउन सकेकोमा खुसी व्यक्त गर्नुभयो।
ट्राफिक प्रहरीहरूले दिनरात जनताको सेवामा खटिनुपर्ने भएकाले उनीहरूको स्वास्थ्यका लागि स्वच्छ पानी अत्यावश्यक छ। रोटरीको यो पहलले ट्राफिक प्रहरीको कार्य सहज बनाउन र उनीहरूको मनोबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।











प्रतिक्रिया