आज हामीले सुन्ने र देख्ने गरेको अमेजन जंगल असीम हरियाली, विशाल रूखहरूको घना छायाँ, चराचुरुङ्गीहरूको मधुर चिरबिराहट र जीवन्त नदीहरूको निरन्तर बहाव वास्तवमा पृथ्वीको सबैभन्दा पुराना र गहिरा कथामध्येको एक हो । यो कथा केवल जैविक विविधताको मात्र नभई, भूगर्भ, जलवायु, संस्कृति र मानव सभ्यताको पनि हो । अमेजन केवल एउटा जंगल मात्र होइन, यो करोडौं वर्षदेखि पृथ्वीले आफैँमा लेखिरहेको एउटा जीवित महाकाव्य हो ।

विश्वको फोक्सो अमेजन
अमेजन रेनफरेस्ट, जसले करिब ७० लाख वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । जुन दक्षिण अमेरिकाका नौ देशहरूमा फैलिएको छ । ब्राजिलमा मात्र यसको ६० प्रतिशत क्षेत्रफल पर्दछ । यसलाई “विश्वको फोक्सो” भनिन्छ, किनभने यसले पृथ्वीलाई आवश्यक पर्ने अक्सिजनको झण्डै २० प्रतिशत उत्पादन गर्छ । यहाँ ४० हजारभन्दा बढी वनस्पति, १३ सय प्रजातिका चराचुरुङ्गी, २ हजारभन्दा बढी प्रजातिका माछा र अनगिन्ती कीरा पाइन्छन् । वर्षेनी १५ सयदेखि ३ हजार मिलिमिटर सम्म वर्षा हुने भएकाले जंगलमा सधैं चिस्यानयुक्त हरियाली रहन्छ । यहाँको घनाजंगल यति बाक्लो छ कि सूर्यको किरणसमेत जमिनसम्म पुग्दैन, जसले दिनको समयमा पनि रातजस्तो अन्धकार बनाउँछ ।
अमेजनभित्रको जीवनशैली पनि अनौठो र रहस्यमयी छ । केही सर्प र माछा प्रजातिहरू “सहकारी शिकारी” का रूपमा संयुक्त प्रयासमा शिकार गर्छन् । साथै, यहाँ त्यस्ता आदिवासी समुदायहरू पनि छन्, जो आजसम्म आधुनिक सभ्यताबाट टाढा रहेका छन् । उनीहरूको भाषा, संस्कार र जीवनशैली पुरातन र अद्वितीय छ ।
पृथ्वीको पुरानो स्वरूप र अमेजनको आरम्भ
करोडौं वर्ष पहिले पृथ्वीको स्वरूप अहिलेको जस्तो थिएन । आजका पृथक महादेशहरू एउटै महादेश “गोंडवाना” भित्र समेटिएका थिए । त्यसवेलाको गोंडवाना वर्तमान दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया, एन्टार्टिका र एसियाका केही भागहरूलाई जोड्ने एक विशाल स्थलखण्ड थियो । करिब १ सय ८४ मिलियन वर्ष अघि पृथ्वीको इतिहासकै एक शक्तिशाली ज्वालामुखी गतिविधिले गोंडवानालाई टुक्र्यायो । लाभाको बहावले भूगोल फाट्यो र टेक्टोनिक प्लेटहरू सर्ने प्रक्रियाले अमेजन वर्षावनको प्रारम्भिक खाका कोरिदियो ।
एन्डिज पर्वतको उदय र अमेजन बेसिनको निर्माण
करिब २५ मिलियन वर्ष पहिले दक्षिण अमेरिकी र नाज्का टेक्टोनिक प्लेटहरूको टक्करबाट एन्डिज पर्वत शृंखलाको जन्म भयो । यी पहाडहरूले अमेजनको भूगर्भमा ठूलो परिवर्तन ल्याए । एन्डिजबाट बग्ने नदीहरूले माटो र लेदो बोकेर पूर्वतर्फ बग्दै अमेजन बेसिन बनायो । त्यही बेसिन जसले आजको जैविक विविधताको आधार निर्माण ग¥यो । त्यसको केही समयपछि करिब १५ मिलियन वर्षअघि, आजको अमेजन क्षेत्र एक विशाल ताजा र शुद्ध पानीको तालले ढाकिएको थियो । तर, समयसँगै बरफ युगहरू आए, समुद्री सतह घट्यो र ताल पूर्वतर्फ बग्न थालेपछि अमेजन नदीको प्रारम्भ भयो । एन्डिजबाट बग्ने नदीहरूले जमिन कटान गर्दै उब्जाउ लेदो ल्याए, जसले हरियाली फैलाउने आधार तयार ग¥यो ।
जैविक विविधता र पृथक विकासक्रम
अमेजनको अचम्मको जैविक विविधता विज्ञानकै लागि चुनौती र चमत्कार दुवै हो । यो विविधता कसरी विकसित भयो भन्नेमा वैज्ञानिकहरूले विभिन्न सिद्धान्तहरू प्रस्तुत गरेका छन् । एउटा सिद्धान्तअनुसार, हिम युगको समयमा अमेजन एकरूप जंगल नभई हरियाली टापुहरूमा विभाजित थियो । जुन टापुहरू सवाना र घाँसे मैदानले अलग गरिएका थिए । त्यस्तो पृथकीकरणले प्राणीहरूलाई आफ्नै वातावरणमा अनुकूलन गर्न बाध्य बनायो, जसले नयाँ प्रजातिहरूको विकास गरायो ।
अर्को सिद्धान्तअनुसार, एन्डिजको निरन्तर उठान, समुद्र सतहको उतारचढाव र भूकम्पीय गतिविधिले अमेजनको पर्यावरणमा निरन्तर दवाब सिर्जना ग¥यो । त्यस्तो, दवाबले प्रजातिहरूको विकासक्रम तीव्र बनायो र बाँच्नका लागि प्राणीहरूले लगातार नयाँ रूप लिंदै गए । त्यस्तै, अर्को धारणाले के भन्छ भने जब विश्वका धेरै भाग हिउँले ढाकिएका थिए, अमेजन भने हिउँमुक्त थियो । जसले विकासक्रमलाई निरन्तरता दियो र त्यहाँको जैविक विविधता अझ व्यापक र अनौठो बन्यो ।
रहस्य र अन्वेषणको अन्तहीन यात्रा
अमेजनको अझै पनि आधा भाग अनुसन्धान र अन्वेषणबाट टाढा छ । यहाँको भित्री भागमा के–के लुकेको छ भन्ने अझै रहस्यकै गर्भमा छ । कतिपय खोजकर्ताहरूले अनौठो जीवहरूको उपस्थितिसमेत रहेको अनुमान गरेका छन् । यद्यपि त्यसको कुनै वैज्ञानिक प्रमाण भने छैन । तर, यस जंगलमा पुराना मानव सभ्यताका चिन्हहरू पनि भेटिएका छन्, जसले के देखाउँछ भने अमेजन केवल जैविक मात्र नभई सांस्कृतिक दृष्टिले पनि अत्यन्तै समृद्ध छ ।

अमेजन विनाशको प्रमुख कारण आगलागी
सन् २०२४ मा ब्राजिलको अमेजन वर्षावनमा भीषण आगलागी हुँदा करिब ४४.२ मिलियन एकड जंगल नष्ट भयो, जुन क्षेत्रफल अमेरिकी राज्य क्यालिफोर्नियाको क्षेत्रफल बराबरको हुन आउँछ । त्यो घटना अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले वृद्धि थियो । ब्राजिलको अनुसन्धान संस्था (आइएनपीई) का अनुसार, २०२४ मा अमेजनमा १ लाख ४० हजार ३ सय ४६ वटा आगलागीका घटना दर्ता भएको सार्वजनिक गरेका थिए । जुन २०२३ को तुलनामा ४२ प्रतिशतले वृद्धि थियो ।
यद्यपि आगलागीको सबैभन्दा गहिरो असर ब्राजिलमा परे पनि यो समस्या छिमेकी अमेजन क्षेत्रका मुलुकहरूमा समेत फैलिएको थियो। बोलिभियाले इतिहासमै सबैभन्दा धेरै आगलागीको सामना गर्दै ९० हजारभन्दा बढी घटना दर्ता गरेका थिए । साथै भेनेजुएला, कोलम्बिया, पेरु र इक्वेडरजस्ता देशहरूमा पनि आगलागी उल्लेखनीय रूपमा वृद्धि भएको देखिए ।
सामान्य अवस्थामा अमेजनजस्ता उष्णकटिबन्धीय वर्षावनहरूमा अत्यधिक आद्रता हुने भएकाले प्राकृतिक रूपमा आगलागी हुने सम्भावना न्यून हुने गर्छ । तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, लामो खडेरी र तीव्र वन विनाशका कारण यी जंगलहरू कमजोर र आगलागीप्रति संवेदनशील बन्दै गएका छन् । खेती, चरन, काठ तस्करी वा अवैध खानीको उद्देश्यले वन फँडानी गरी सुक्खा अवस्थामा आगो लगाउने प्रवृत्ति बढ्दै गएको छ । तर, लामो समयसम्मको खडेरीले गर्दा यस्ता नियोजित आगोहरू नियन्त्रणबाहिर गइ सामुदायिक वनमा समेत फैलिन थालेका छन् ।
त्यस्तै, घटनाले अमेजन गंभीर अवस्थामा पुग्न सक्ने वैज्ञानिकहरू चेतावनी दिँदै आएका छन । यदि कूल क्षेत्रफलको २० देखि २५ प्रतिशतसम्म वन क्षेत्र नष्ट वा क्षतिग्रस्त भयो भने अमेजन वर्षावनले आफ्नो मौसमी चक्र कायम राख्न नसक्ने स्थिति आउन सक्छ । त्यस्तो अवस्था आउँदा २०५० सम्ममा अमेजन सवाना जस्तै सुख्खा घाँसे मैदानमा रूपान्तरण हुन सक्ने खतरा रहेको छ । जसले जैविक विविधताको विनाश र वैश्विक जलवायु संकटलाई अझ तीव्र बनाउनेछ । यसरी हेर्दा अमेजनमा भइरहेको विनाश केवल कुनै एक देशको समस्या मात्र नभई पूरै विश्वको लागि नै एउटा घातक संकटको निम्तो हो ।
(एजेन्सीको सहयोगमा)











प्रतिक्रिया