यसपालिको दशैंमा एकसाथ ३ नेपाली फिल्म एकआपसमा भिड्ने भएका छन्।
आगामी सोमबार फूलपातीको दिन एकसाथ हरिबहादुरको जुत्ता, माइतीघर र बलिदान रिलिजमा आउने लागेका हुन्। यी ३ फिल्मका लागि हलले शो विभाजन पनि गरिसकेका छन्। हरिवंश आचार्य स्टार हरिबहादुरको जुत्ताले हालका लागि कूल १ सय १६ शोज पाएको छ।
सेन्सर बोर्डले यो फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। सेन्सरमा फिल्मको क्लाइमेक्सले भावुक बनाएको थियो। फिल्मले हसाउँदा हसाउँदै भावुक बनाउने सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका थिए। दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन्।
केदार घिमिरे, धीरज मगरलगायतका स्टारले अभिनय गरेको माइतीघरले १ सय २१ शोज पाएको छ। मिलन तामाङद्वारा निर्देशित सोसल ड्रामा माइतीघरलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीले तारिफ गरेको निर्माणपक्षको दाबी छ। फिल्मका निर्माता रोहित अधिकारीले फिल्मबाट दर्शक निराश नहुने बताए। फिल्ममा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ।
बिहीबार सार्वजनिक शो तालिकाअनुसार सन्तोष सेनद्वारा निर्देशित बलिदानले १ सय ९३ शोज पाएको छ। फिल्ममा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढाथोकी, ऋचा शर्मा, कविता राय, कामेश्वर चौरासिया, प्रजल दुलाल, जीवन बराल, रितेशजंग पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।
दशैंमा दर्शकको मनोरञ्जन मुड हेरेर देशका अधिकांश हल २४ सै घन्टासम्म सञ्चालनमा आउने देखिएको छ। हलहरूले बिहान साँढे ५ बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका छन्। अन्तिम शो छुट्दा बिहानको ३ बज्नेछ भने २ घण्टा लगत्तै बिहानको अर्को शो चल्नेछ। शोको तालिका आइतबारसम्म थपघट हुन सक्नेछ।












प्रतिक्रिया