काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सार्वजनिक गरेको ताजा तथ्यांकले सन् २०२४ सम्म आइपुग्दा उच्च रक्तचाप (हाई ब्लड प्रेसर) बाट पीडित हुने व्यक्तिको संख्या १ अर्ब ४० करोड नाघेको जनाएको छ । तथ्यांकले चेतावनी दिएको छ– हृदयाघात, मस्तिष्कघात, दीर्घकालीन मिर्गौला रोग र डिमेन्सियाजस्ता रोगको मुख्य कारण मानिने उच्च रक्तचाप विश्वव्यापी स्वास्थ्य संकट बन्दै गएको छ ।
प्रतिवेदनले झन् चिन्ताजनक तथ्य उजागर गरेको छ । पाँचमध्ये एक जनाले मात्र औषधि सेवन गरेर वा जीवनशैली परिमार्जन गरेर रोगलाई नियन्त्रणमा राखेका छन् । बाँकी चार जनाले उपचार नगर्दा वा ढिलाइ गर्दा अकाल मृत्यु भोगिरहेका छन् । ‘उच्च रक्तचाप नियन्त्रणयोग्य समस्या हो तर बेवास्ताले महामारीको रूप लिँदै छ’ –प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको ८०औँ महासभाको सन्दर्भमा डब्लूएचओ, ब्लुम्बर्ग फिलान्थ्रोपिक र रिजोल्भ टु सेव लाइभ्सले संयुक्त रूपमा कार्यक्रम गर्दै नयाँ प्रतिवेदन सार्वजनिक गरेका थिए । जसमा देखाइएको छ– न्यून आय भएका मुलुकहरूमध्ये २८ प्रतिशत देशले मात्रै डब्लूएचओले सिफारिस गरेका सबै औषधि प्राथमिक स्वास्थ्य केन्द्र वा स्थानीय फार्मेसीमार्फत उपलब्ध गराएका छन् ।
डब्लूएचओको प्रतिवेदनले सन् २०११ देखि २०२५ सम्म उच्च रक्तचापसहितका मुटुरोगले मात्र कम तथा मध्यम आय भएका देशहरूलाई करिब ३ दशमलव ७ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति गर्ने अनुमान गरेको छ । यो ती मुलुकहरूको सकल घरेलु उत्पादन (जीडीपी) को झन्डै २ प्रतिशत बराबर हो ।
नेपालका लागि यो अनुमान प्रत्यक्ष चुनौती हो । कामकाजी उमेरका मानिस उच्च रक्तचापका कारण उत्पादकत्व गुमाउँदा राष्ट्रिय अर्थतन्त्रमा ठूलो दबाब बढ्दै गएको छ । एकातिर उपचार खर्च बढ्दै छ, अर्कोतिर श्रमशक्ति घट्दै छ ।डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भन्नुभयो– ‘उच्च रक्तचाप रोक्न सकिने समस्या हो । तर, विश्वभर हरेक घण्टामा यसकै कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइरहेको छ ।’ उहाँका अनुसार देशहरूसँग यसलाई नियन्त्रण गर्ने साधन छ, तर राजनीतिक इच्छाशक्ति र लगानी अभावले चुनौती अझै कायम छ ।
नेपालका चिकित्सकहरू पनि यही चेतावनी दिन्छन् । वरिष्ठ हृदय रोग विशेषज्ञ डा. अनिल भट्टराई भन्नुहुन्छ– ‘नेपालमा धूम्रपान, मद्यपान, नुनिलो र बोसोयुक्त खाना बढी सेवन, तथा व्यायामको कमी उच्च रक्तचापका मुख्य कारण हुन् । तर, नियमित स्वास्थ्य परीक्षण गर्ने बानी अझै बनेको छैन ।’
स्वास्थ्यविद्हरूका अनुसार, उच्च रक्तचाप नियन्त्रण गर्न नीतिगत र व्यावहारिक दुवै तहमा परिवर्तन आवश्यक छ । नुनको सेवन घटाउने, प्रशोधित खाद्य पदार्थ नियन्त्रण गर्ने, व्यायामलाई दैनिक जीवनमा समेट्ने, धूम्रपान–मद्यपान नियन्त्रण गर्ने, मानसिक तनाव घटाउने जस्ता उपायलाई व्यापक बनाउन जरुरी छ ।
त्यस्तै, सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, आधारभूत स्वास्थ्य केन्द्रमा औषधि उपलब्ध गराउन र गैरसञ्चारी रोग नियन्त्रणलाई राष्ट्रिय स्वास्थ्य नीतिको केन्द्रमा राख्नुपर्ने सुझाव आएको छ । विद्यालय स्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि बढ्दो छ ।
विश्व स्वास्थ्य संकटकै रूपमा देखिएको उच्च रक्तचाप नेपालका लागि पनि ‘साइलेन्ट किलर’ सावित भइरहेको छ । तत्काल ध्यान नदिने हो भने यसले सामाजिक–आर्थिक र मानवीय दुवै क्षति बढाउनेछ । स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ– अब ढिलाइ नगरौं, उच्च रक्तचाप नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राखौं, अन्यथा क्षति अकल्पनीय हुनेछ ।
नेपालमा चुनौती बढ्दो
नेपालमा पनि उच्च रक्तचाप बढ्दो चुनौती बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार देशभर करिब २८ प्रतिशत वयस्क यस समस्याबाट प्रभावित छन् । तीन करोड जनसंख्यामध्ये करिब ८० लाखभन्दा बढी नागरिक उच्च रक्तचापको चपेटामा परेका अनुमान छ ।
तर, यथार्थ अझै गम्भीर छ । स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का अनुसार, नेपालमा हाल हुने कुल मृत्युमध्ये करिब ६० प्रतिशत गैरसञ्चारी रोग (एनसीडी) का कारण हुन्छ । यसमा उच्च रक्तचाप प्रमुख जोखिम कारकका रूपमा छ । ग्रामीण क्षेत्रमा औषधि उपलब्धतामा समस्या, नियमित स्वास्थ्य परीक्षणको कमी, र जीवनशैलीसम्बन्धी सचेतनाको अभावले अवस्था झन् जटिल बनाएको स्वास्थ्यविद्हरूको निष्कर्ष छ । यो कार्य सरकारले नै तीन तह औषधि खरिद र आपूर्ति गर्दा झन्झटिलो र समयमा मागअनुरूपको औषधि उपलब्ध नहुने अवस्था छ ।
यतिमात्र नभई स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत औषधि सेवन गर्दै आएका बिरामीले २०८२ साउन १ गतेदेखि लागू भएको स्वास्थ्य बिमा प्रथम सेवा विन्दुबाट रिफर लिनुपर्ने र अनिमात्र चिकित्सककोमा परीक्षण गराउनुपर्ने व्यवस्था गरिएपछि थप सास्ती भोग्दै आएका छन् । यतिबेला बिरामीले एक दिन बिहानदेखि आधा दिनसम्म कुपन, रिफर लिन समय बिताउँछन् भने मध्याह्नपछि तोकिएको स्वास्थ्य संस्थामा गै टिकटका लागि लाइन बस्छन् ।
त्यहाँ सफ्टवेयर चल्दैन र दिनभरि भोकभोकै लाइनम बिताउँछन् । दोस्रो दिन अस्पतालको चिकित्सकको कक्षमा टोकन लिएर लाइन बस्छन् र आधा दिनमा चिकित्सकको अनुहार देख्छन् । चिकित्सकले सुझाएको परीक्षण गर्न पालो कुर्दै दिन बित्छ । तेस्रो दिन रिपोर्ट देखाउन उस्तै सास्ती हुन्छ । यो झन्झटिलो अवस्थाबाट आम नागरिकले कसरी मुक्ति पाउने आम नागरिकले राज्यसँग प्रश्न गर्दै छन् ।
काठमाडौं उपत्यका र ठूला सहरमा त सामान्य परीक्षण वा चिकित्सकको पहुँच सहज छ, तर गाउँगाउँमा अझै प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उच्च रक्तचाप नियन्त्रक औषधि अभाव देखिन्छ । बिरामीहरूलाई निजी फार्मेसी वा ठूलो अस्पताल धाउनुपर्ने बाध्यता छ ।











प्रतिक्रिया