काठमाडौं
.शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको सम्मान तथा बिदाइ कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ । अंग प्रत्यारोपणको आधारशिला बनाउने अगुवा डा.पुकारको स्थान अब कसले सम्हाल्ला ? भोलीका दिनमा पनि त्यस्तै सेवा पाइन्छ कि पाइन्न भन्ने बिरामीका मनमा प्रश्न नै प्रश्न उठेको छ ।
मिर्गौला तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सधैं जोडिने एउटा नाम हो डा. पुकार चन्द्र श्रेष्ठ । अस्पतालको इतिहासमा मात्र होइन, नेपालमा अंग प्रत्यारोपणको सुरुवात, विकास र विस्तारमा उनको योगदान कहिल्यै कसैले भुल्ने छैन । ३४ वर्ष लामो सरकारी सेवामध्ये करिब १३ वर्षको अवधिमा बीचमा १ वर्ष सरकारले उनलाई हटाएको अवधि बाहेक उनले प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको रूपमा बिताए । तर, निर्देशक मात्र होइन, उनले प्रत्यारोपण सर्जनका रूपमा प्रत्यक्ष उपचारमा खटिँदै संस्था र बिरामीलाई देशव्यापी रुपमा जीवन दिने अभियान चलाए।
वि.सं. २०६८ फागुन ७ गते भक्तपुर अस्पतालको भवनभित्र सुरु भएको यो केन्द्रमा पहिलो दिनदेखि डा. श्रेष्ठ कार्यकारी निर्देशकका रुपमा सक्रिय थिए । सुरुवाती चुनौती, स्रोत साधनको अभाव, आफ्नै भवन र कर्मचारी नभएको अवस्थासमेत उनले सहकर्मीहरूसँगै सामना गरे । “भक्तपुर अस्पतालले दिएको भवन र एउटा टेवुल कुर्सीबाट सुरु गरेका थियौँ,” उनले मंगलबारको बिदाइ कार्यक्रममा भावुक हुँदै भने, “तर सबैको साथले आज केन्द्र दक्षिण एसियाकै अब्बल संस्थामध्ये एक बनेको छ ।” यो अस्पताल शुरु हुँदा विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकमा मिर्गौला रोग लाग्यो भने उपचार गर्न नसकेर ९० प्रतिशतको मृत्यु हुन्छ भनेको थियो । प्रयास गरे के हुन्न आज त्यहि मुलुक नेपालमा मिर्गौलाका बिरामी मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफल भएको छ ।
२०६९ वैशाख ११ गते सरकारले औपचारिक रूपमा मानव अंग प्रत्यारोपण केन्द्र विकास समिति गठन गरेपछि मात्र उनलाई आधिकारिक पदभार दिइएको थियो । त्यसपछि उनले दिनरात नभनी आफ्नो समय मिर्गौला र कलेजोको समस्या भएका बिरामी र बिरामीका लागि आवश्यक पर्ने भौतिक संरचना, दक्ष जनशक्ति, सहयोगी दाता, नीति नियम बनाउने काम र सरकारको ध्यानाकर्षण गराई कार्यान्वयनमा लैजाने काममा खर्चे ।
उनको नेतृत्वमा केन्द्रले १ हजार ५ सय भन्दा बढी मिर्गौला प्रत्यारोपण र ३५ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भैसकेको छ । जेनजी आन्दोलनको पहिलो दिन अर्थात् भाद्र २३ गते यही जानकारी सरकारलाई गराउने र नीतिगत रुपमा नै देश व्यापी रुपमा अंग प्रत्यारोपणलाई विस्तार गर्ने सन्देश दिन देशका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरियो । सोही अवसरमा मस्तिष्क मृत्यु भएका सात दाताबाट अंग संकलन गरी १३ जनामा मिर्गौला, चार जनामा कलेजो तथा एक जनामा मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गरिएको जानकारी गराइएको थियो ।
त्यसमा पनि पहिलो पटक मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण, पहिलो पटक कलेजो प्रत्यारोपण, एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता उपलब्धिको श्रेय पनि डा. श्रेष्ठकै टोलीलाई जान्छ । उनले बारम्बार गर्वका साथ भनेका छन्-“हाम्रो केन्द्रमा प्रत्यारोपणको सफलता दर ९९ प्रतिशत छ, जुन विश्वकै मापदण्डसँग मेल खान्छ ।
यतिमात्र नभै केन्द्रलाई मात्र सीमित नराखी उनको अगुवाइमा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा प्रत्यारोपण सम्भव बनाउनु उनको अर्को ऐतिहासिक योगदान हो । स्थानीय चिकित्सक र नर्सलाई तालिम दिनु, प्राविधिक ज्ञान हस्तान्तरण गर्नु र प्रदेशस्तरमा सेवा विस्तार गर्नु उनको दीर्घकालीन योजना थियो ।
प्रत्यारोपण सर्जन भएर मात्रै सीमित नभई उनले अंगदानसम्बन्धी ऐन संशोधन, मस्तिष्क मृत्युसम्बन्धी कानुन निर्माण र कार्यान्वयनमा देखिएका चुनौती हटाउन पनि सक्रिय भूमिका खेले । यस कारण आज नेपालमा अंगदान र प्रत्यारोपण कानुनी रूपमा व्यवस्थित छ ।
बिदाइको भावुक क्षण
मंगलबार दिउँसो केन्द्रमा उनको विदाईका लागि भव्य कार्यक्रम आयोजना गरिएको थियो । अस्पताल परिवार, प्रत्यारोपणपछि नयाँ जीवन पाएका बिरामी, सहकर्मी चिकित्सक, नर्स, सञ्चारकर्मी र स्थानीय समाजसेवीहरूको ठूलो भीड थियो । मञ्चमा टाँगिएको ब्यानरमा लेखिएको थियो—“सम्मान तथा बिदाइ कार्यक्रम : डा. पुकार चन्द्र श्रेष्ठ ।”
सम्मान ग्रहण गर्दै गर्दा डा. श्रेष्ठ आँसु झार्दै भावुक भए। “म अझै सेवा गर्न चाहन्थेँ, तर कानुनमा उल्लेख भएको उमेरको हदवन्दीले अनुमति दिएन,” उनले भने । सहकर्मीहरूले कदरपत्र, खादा, माला र सम्मानपत्रको थुप्रोसँगै उनलाई बधाई दिएका थिए ।
बिरामी, कलाकार र संचारकर्मीको श्रद्धा
कार्यक्रममा प्रत्यारोपणपछि नयाँ जीवन पाएका बिरामीहरूले उनलाई “जीवनदाता” भन्दै कृतज्ञता प्रकट गरे, बोल्दा बोल्दै भक्कानीए र गला अवरुद्ध पार्दै उत्तिकै प्रशंसा गरे । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने–मेरो सत्रु भनेको रोग हो “मेरो श्रीमतीलाई क्यान्सरले लग्यो, मलाई पार्किन्सनले सताइरहेको छ । यस्ता रोगसँग लड्न डा. पुकारजस्ता चिकित्सकको नेतृत्वमा सरकारले खडा गरेको यो संस्थाले हजारौँलाई नयाँ जीवन दिएको छ ।”
डा. श्रेष्ठले अझै पनि प्रत्यारोपण सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन र अंगदानका लागि आवश्यक भौतिक संरचना विस्तार र प्रतिष्ठानमा परिणत गर्ने सपना अधूरै रहेको बताए । “मैले नेतृत्व गरेको १३ वर्षमा सम्भव भएको उपलब्धि सबैको साथले आएको हो । अब यो जिम्मेवारी नयाँ पुस्ताले अझै अगाडि बढाओस् भन्ने अपेक्षा राख्छु,” उनले भने ।
उनले अन्तिममा प्रष्ट भने–“सरकारी सेवाबाट अवकाश पाए पनि सेवाको भावनाबाट म अवकाश लिने छैन । मेरो जोश जागर कायमै छ र म सधैँ यो अस्पताल र बिरामीको साथमै रहेर काम गर्नेछु । मलाई सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गर्न कुनै पनि कसुर बाँकी राख्ने छैन । यो सबैको पछाडि म एक्लैले गरेर भएको हैन । सबै क्षेत्र, निकाय, बिरामीको विश्वासले नै भएको हो ।”
डा. पुकार चन्द्र श्रेष्ठले १३ वर्षको अथक यात्रामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई देशकै अग्रणी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था बनाउने गरी नेतृत्वदायी भूमिका निर्वाह गरे । हजारौँलाई नयाँ जीवन दिने अवसर सिर्जना गर्दै उनले अंग प्रत्यारोपणको जग बसाले ।
उनको विदाईले एउटा पुस्ताको यात्रा पूरा भएको संकेत गरेको छ । तर, उनले बोकेको सपना र देखाएको बाटो अब आउने पुस्ताले निरन्तरता दिनुपर्नेछ ।
करिब १३ वर्षअघि यो केन्द्रको स्थापना गरी नेपालमै पहिलोपटक व्यवस्थित रूपमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने डा. श्रेष्ठले आफ्नो सम्पूर्ण जीवनको उर्जाशक्ति यसैमा खर्चिए । उनले सुरु गरेको यात्राले अहिलेसम्म करिब १५ सयभन्दा बढी बिरामीलाई नयाँ जीवन दिन सफल भएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको छ ।
कार्यक्रममा बिरामी, चिकित्सक, कर्मचारी, अस्पताल व्यवस्थापन समिति, पत्रकार तथा शुभेच्छुकहरूको ठूलो भीड थियो । सम्मान ग्रहण गर्ने क्रममा डा. श्रेष्ठ निकै भावुक बने र आसु झार्दै भने –“मैले यो अस्पतालबाट बिदा हुनुपर्छ भन्ने कुरा कहिल्यै सोचेको थिइनँ । तर समयको चक्र घुमेजस्तै उमेर पनि नेपाल सरकारको नियमले सीमा पार गरिसकेछ । अझै पनि सेवा गर्ने मन थियो, तर नियमले अनुमति दिएन ।”
खादा, माला र सम्मान पत्रले भरिएका अवस्थामा उनी आफ्ना सहकर्मीहरू र बितेका दिनको उतार चढाव र सफलताले सृजना गरेको मायाले भिजेका थिए । सहकर्मीहरूलाई खादा र मालाको थुप्रो हटाउनसमेत भ्याई नभ्याई थियो ।
डा. श्रेष्ठले प्रत्यारोपण केन्द्र स्थापना गर्दा महत्त्वपूर्ण भूमिका खेल्ने स्व. डा. प्रवीण मिश्र, तत्कालीन प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी तथा सञ्चारकर्मी, घरपरिवार, श्रीमती सबैलाई सम्झिए र भने –“हामीले शून्यबाट सुरु गरेका थियौँ । अहिले यस संस्थाले हजारौंलाई जीवन दिएको छ । अझै धेरै सपना थिए, अनुसन्धान बढाउने, प्रत्यारोपण सेवा थप विस्तार गर्ने, तर मेरो कार्यकालमै पूरा गर्न सकिनँ । पछिल्लो पुस्ताले ती पूरा गर्नेछ भन्ने विश्वास छ । म बाहिर रहेर पनि यी कार्यमा सघाउने छु ।”
उनले सहकर्मीहरूको सहयोग र बिरामीहरूको विश्वास नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे ।
बिदाइ कार्यक्रममा प्रत्यारोपणपछि नयाँ जीवन पाएका धेरै बिरामीहरूले डा. श्रेष्ठलाई जीवनदाता भगवान भन्दै कृतज्ञता प्रकट गरे । पहिलो मिर्गौला प्रत्यारोपण भइसकेका बिरामी झमक बहादुर श्रेष्ठले मैले मिर्गौला उपचारका लागि भारतमा ७० लाख भन्दा बढी खर्च गरिसकेको थिए । म जीवनको अन्तिम क्षणमा थिए उनले नेपालमै मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन दिए–“डाक्टर पुकार नभएको भए आज हामी जीवित हुने थिएनौँ । उहाँ हाम्रो लागि चिकित्सक मात्र नभै भगवान बन्नुभएको छ । उहाँले यो क्षेत्रमा ऐतिहासिक अंगदान गर्ने इतिहास रच्नुभयो । यो अभियानलाई सबैले मिलेर निरन्तरता दिनुपर्छ र स्वस्थ नेपाल बनाउँनुपर्छ । यो बिदाइ केवल उमेर र पदको हो । तपाईंले मिर्गौला प्रत्यारोपणका लागि स्थान नपाएर भौतारिरहेका म जस्ता हजारौ बिरामीलाई बचाई राख्नुछ । त्यसका लागि तपाईले देख्नुभएको प्रतिष्ठान बनाउने सपना तपाईकै हातबाट पुरा गर्ने सफलता मिलोस ।”
अस्पताल व्यवस्थापन समितिका सदस्य सोमबहादुर थापाले धेरै मान्छेको ज्यान बचाउँने मान्छेलाई पनि कानुनले अप्ठ्यारो पार्दो रहेछ । आज हामी यो असपतालको विकासका लागि अप्ठ्यारो मोडमा छौ । जतिबेला यो अस्पतालको कानुन बनाउने क्रममा म सरकारी जागिरे मन्त्रालयमै थिए । मैले शुरुको ड्राफ्ट विधेयक पारित समिति र संसदमा पुर्याए, दुबै ठाउँबाट सरासर पारित भयो । त्यै कानूनको आधारमा डा. पुकारले एउटै व्यक्तिको ३ पटक सम्म मिर्गौला प्रत्यारोपण गर्नुभयो । उहाँको मूल्याङ्कन राज्य र आम नागरिकले पक्कै गर्ने नै छ । उहाँ जस्तो विज्ञ विश्लेषकको स्वास्थ्य क्षेत्रमा खाँचो छ । डा.श्रेष्ठ सधैँ हसिलो हुनुहुन्छ उहाँलाई यो हसिमुख भगवानले दिएकै कारण उहाँका काम पनि सफल भएका छन् उहाँले भने ।
उनको नेतृत्वमा बनेको यस केन्द्रमा प्रत्यारोपण सेवासँगै हेमोडायलाइसिस, प्रयोगशाला, अनुसन्धान, जनचेतना कार्यक्रमलगायतका सेवा विस्तार भएका छन् । केन्द्रले नेपाललाई दक्षिण एसियामा प्रत्यारोपण सेवाको दृष्टिले नयाँ पहिचान दिलाएको उल्लेख पनि गरिएको छ । उनले जीवनको मुख्य समय, ज्ञान र अनुभव यस केन्द्रमा समर्पण गरेर हजारौं परिवारलाई आशा र नयाँ जीवन दिनुभएको छ ।
आज उनी बिदा भए पनि उहाँको योगदानले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मात्र होइन, सम्पूर्ण नेपाली स्वास्थ्य क्षेत्रमा कहिल्यै नमेटिने छाप छोडेको छ।
कार्यक्रममा संचालक समिति सदस्य डा.कल्पना कुमारी श्रेष्ठले उहाँको परिकल्पना नभएको भए हामी यहाँ हुने थिएनौ । उहाँको कार्यकाल सकिए पनि उहाँले गर्नुपर्ने काम धेरै छन् । उहाँलाई बिदाइ गरेको नभै सम्मान गरेको हो भन्दै उहाँको श्रीमतीको साथ र सहयोगको प्रशंसा गरे ।
त्यस्तै साहित्यकार तिलक कायस्थले भक्तपुरमा अस्पताल आउँदा कस्तो कस्तो लागेको थियो । तर यति छोटो समयमा डा.पुकारको नेतृत्वले गरेको काम विश्वमै भएको छैन । मानव जीवन दिने डाक्टरलाई यस्तो कानुनले बाधेका कारण बिदा दिँदैछो । कर्मचारीलाई ६० वर्ष लागु गर्न सक्ने कानुनले नेताहरुलाई किन आजीवन ? यस्तो कानुन परिवर्तन हुनुपर्छ भने ।
सोही अवसरमा अस्पतालद्वारा प्रकाशित शून्य देखि शिखर सम्म नामक पुस्तक विमोचन गरिएको थियो ।











प्रतिक्रिया