वीरगञ्ज भन्सारबाट ३९ अर्ब राजस्व


वीरगञ्ज ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपियाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले तोकेको ४३ अर्ब ३ करोड रुपियाँ लक्ष्यको ९०.९९ प्रतिशत राजस्व संकलन गर्न कार्यालय सफल भएको हो ।

भन्सार कार्यालयका अनुसार भदौ महिनामा प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि राजस्व संकलन उत्साहजनक बनेको छ । उनका भनाइमा, साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व संकलन भएको थियो भने भदौमा त्यो बढेर २० अर्ब १२ करोड पुगेको छ ।
जेन–जी समूहको आन्दोलनका कारण भदौ २५ गते राजस्व संकलन शून्य भए पनि मासिक लक्ष्यको ९३.९७ प्रतिशत हासिल भएको कार्यालयले जनाएको छ ।

भदौ १२ गते एकैदिन २ अर्ब ३७ करोड, भदौ १७ गते १ अर्ब ९२ करोड, भदौ २८ गते १ अर्ब ७१ करोड र भदौ ३१ गते १ अर्ब ११ करोड रुपियाँ संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ । यद्यपि, आन्दोलनका दिन भदौ २४ गते केवल ३ करोड, भदौ २५ गते शून्य, भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड रुपियाँ मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।