मितेरी पुल बगाउँदा साढे सात अर्बको क्षति


रसुवा ।

गत असार २४ गते न्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा साढे सात अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुल्सीप्रसाद भट्टराईका अनुसार पुल बगाउँदा राजस्व संकलनमा ठूलो घाटा भएको हो ।

हाल पुलमा बेलिब्रिज राख्ने काम भइरहे पनि संरचना भासिन लागेकाले मालबाहक गाडी समयमै आवतजावत गर्न नसक्दा जलविद्युत् आयोजनाको पुनर्निर्माण ढिलो भएको उहाँले बताउनुभयो ।

गल्छी–मैल्युङ–रसुवागढी सडक सुधार आयोजनाका इन्जिनियर कुमार विक्रम पराजुलीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–३ स्थित कुलुङ पुलमा निरन्तर वर्षाका कारण पर्खालको जग जोखिममा परेको छ । जोखिम न्युनीकरण सुरु भए पनि हाल ठूला मालबाहक गाडी रोकिएका छन् भने नियमित यात्रुबाहक बस, साना गाडी र मोटरसाइकल सञ्चालन भइरहेका छन् ।

यातायात आंशिक खुले पनि पुलमा बढ्दो जोखिमका कारण रसुवागढी जलविद्युत् आयोजनाले निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसकेको जनाएको छ । यसै कारण आयोजनाले करिब १ करोड २७ लाख रुपियाँभन्दा बढी घाटा व्यहोर्नु परेको प्रबन्ध निर्देशक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।