व्यापार सहजीकरणका लागि राजदूतहरुसँग छलफल


काठमाडौं ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको विशेष सम्बन्ध र भारतले दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै दातृ मुलुकहरूसँग आर्थिक साझेदारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । राजदूत श्रीवास्तवले भारतले नेपाललाई सबै किसिमको सहयोग गर्न तत्पर रहेको र व्यापार तथा लगानी प्रवद्र्धनमा सहकार्य अघि बढाउने प्रतिवद्धता जनाए ।

त्यस्तै चीनका राजदूतसँगको भेटमा मन्त्री खनालले चीनको सहयोगप्रति धन्यवाद दिँदै बैंकिङ साझेदारी, निकासी भुक्तानी सरलीकरण र लगानी प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरे ।

राजदूत सोङ्गले चीनले नेपालको निर्णयलाई सम्मान गर्दै सहयोग निरन्तर रहने बताए र निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपमा अघि बढिरहेको जानकारी दिए । दुवै भेटमा नेपाल–भारत र नेपाल–चीनबीच आर्थिक साझेदारी र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।