वन लेग डान्सर सीताको अल्पायुमै निधन


एउटा खुट्टाकै भरमा नाचेर लोकप्रियता कमाउन सफल वन लेग डान्सर सीता सुवेदीको ४० वर्षको अल्पायुमै मंगलबार निधन भएको छ।

सुवेदीको मंगलबार बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ। क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी सीतालाई करिब तीन महिनाअघि पुनः फोक्सोको क्यान्सर देखिएको थियो। उनी करिब एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन्। त्यसअघि उनी शुद्वीग्राम आयुर्वेदिक अस्पतालमा उपचार गराइरहेकी थिइन्।

चितवन घर भएकी सुवेदीले एउटा खुट्टाले नाचेर विशेष पहिचान बनाउन सफल थिइन्। कत्थक नृत्यमा पारंगत उनले क्लासिक नेपाल फाउन्डेसन स्थापना गरेकी थिइन्। एमएस नेपाल इन्टरनेसनल २०२३ विजेता रहेकी उनी प्रेरक वक्ता, गायिका तथा इन्टरमिडिएट–लेभल कत्थक नृत्यकी स्वर्ण पदक विजेता थिइन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय, ललितपुर समितिकी सह सचिव पनि रहेकी थिइन्।

सानैदेखि नृत्यमा रुचि राख्ने उनले १२ वर्षको उमेरमा क्यान्सर रोगका कारण एउटा खुट्टा गुमाएकी थिइन्। उनले देश विदेशका विभिन्न एक सयभन्दा बढी स्टेजमा प्रस्तुति दिएकी थिइन्। सीताको परिवारमा आमाबुबा र १२ वर्षीया एक छोरी रहेका छन्। उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।