विश्व मुटु दिवसको अवसरमा योगाभ्यास


काठमाडौं ।

विश्व मुटु दिवस २०२५ को उपलक्ष्यमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाले हालै प्रतिष्ठानकै सभा कक्षमा योगाभ्यास कार्यक्रम सञ्चालन गरेको छ । योगाभ्यासको योगगुरु जनक श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त योगाभ्यासमा ४७ जनाको सहभागिता रहेको थियो ।

योगाभ्यासपश्चात् योगको महत्व र यसको उपादेयताबारे अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । उक्त अन्तरक्रियामा प्राकृतिक चिकित्सक निर्मला कायस्थले शरीरलाई स्वस्थ राख्न योगका साथै खानपिनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका उपसभापति अशोक श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा योगगुरु श्रेष्ठले नियमित योगाभ्यासले निरोगी हुनुका साथै शरीरलाई स्वस्थ राख्न सकिने बताउनुभयो ।

हार्ट क्लब नेपालका उपाध्यक्ष मोहननाथ मास्केले हार्ट क्लब नेपाल र प्रतिष्ठानले संयुक्त रूपमा प्रत्येक महिनाको अन्तिम शनिबार बिहान अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।