रविलक्ष्मी चित्रकार गम्भीर : थप उपचारका लागि दिल्ली लगियो


काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि भारतको राजधानी दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ । फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उहाँलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो ।

जेन–जी आन्दोलनका क्रममा आगलागी हुँदा उहाँ जलेर घाइते हुनभएको थियो । सोही क्रममा प्रारम्भिक उपचारका लागि उहाँलाई कीर्तिपुर अस्पतालस्थित बर्न सेन्टरमा भर्ना गरिएको थियो । कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चित्रकारको शरीरको करिब १५ प्रतिशत भागमा जलन भएको थियो । विशेष गरी देब्रे हातमा गम्भीर चोट लागेपछि संक्रमण फैलिँदै गएर हातको अवस्था जटिल बनेको हो ।

अन्ततः संक्रमण नियन्त्रण बाहिर जान थालेपछि चिकित्सकहरूको निर्णयमा कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काटिएको डा. राईले जानकारी दिनुभयो । हात काटिए पनि संक्रमण र निमोनियाले चित्रकारको अवस्था अझ जटिल बनाएको छ ।

यसअघि केही दिनसम्म स्थिर देखिएको स्वास्थ्य अवस्था अचानक बिग्रिँदै गएपछि सोमबार साँझ चिकित्सकहरूले तत्काल आइसीयूस्तरको व्यवस्थासहित थप उपचारका लागि विदेश लैजान सुझाव दिएका थिए । परिवारले दिल्लीस्थित एपोलो अस्पतालमा सम्पर्क गरेर आकस्मिक भर्ना प्रक्रिया पूरा गरेपछि एयर एम्बुलेन्समार्फत दिल्ली लैजाने तयारी भएको हो ।

पारिवारिक स्रोतका अनुसार, रविलक्ष्मी चित्रकारलाई लैजानका लागि श्री एयरलाइन्सको विशेष मेडिकल चार्टर प्रयोग गरिएको हो । एयर एम्बुलेन्समा अस्पतालका एक जना चिकित्सक तथा एक जना नर्ससमेत सँगै लगिएको बताइएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा पहिले पनि नेपाली नेताहरू र विशिष्ट व्यक्तिहरूको उपचार भइसकेको छ ।