झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर: दिल्ली लगियो


काठमाडौं। 

नेकपा (समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि भारतको राजधानी दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ। फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई सोमवार राती एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित झलनाथ खनालको निजी निवासमा प्रदर्शनकारीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। सो दिन झण्डै मध्याह्नतिर घरमै भएको बेला प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि आगलागी हुँदा उनी जलेर घाइते भएकी हुन्। प्रारम्भिक उपचारका लागि उनलाई कीर्तिपुर अस्पतालस्थित बर्न सेन्टरमा भर्ना गरिएको थियो।

कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चित्रकारको शरीरको करिब १५ प्रतिशत भागमा जलन भएको थियो। विशेष गरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै गएर हातको अवस्था जटिल बनेको हो। अन्ततः सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि चिकित्सकहरूको निर्णयमा कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काटिएको डा. राईले जानकारी दिए।

“बर्न इन्जुरीको असर निकै गम्भीर थियो। संक्रमणले हातको भाग पूरै नष्ट पार्ने खालको अवस्था बनेपछि हामीले हात काट्नु पर्ने निर्णय गर्नुपर्‍यो,” डा. राईले भने। उनका अनुसार हात काटिए पनि सङ्क्रमण र निमोनियाले चित्रकारको अवस्था अझ जटिल बनाएको छ।

यसअघि केही दिनसम्म स्थिर देखिएको स्वास्थ्य अवस्था अचानक बिग्रिँदै गएपछि सोमबार साँझ चिकित्सकहरूले तत्काल आइसीयूस्तरको व्यवस्थासहित थप उपचारका लागि विदेश लैजान सुझाव दिएका थिए। परिवारले दिल्लीस्थित एपोलो अस्पतालमा सम्पर्क गरेर आकस्मिक भर्ना प्रक्रिया पूरा गरेपछि एयर एम्बुलेन्समार्फत दिल्ली लैजाने तयारी भएको हो।

पारिवारीक स्रोतका अनुसार, रविलक्ष्मी चित्रकारलाई लैजानका लागि श्री एयरलाइन्सको विशेष मेडिकल चार्टर प्रयोग गरियो। एयर एम्बुलेन्समा अस्पतालका एक जना चिकित्सक तथा एक जना नर्स समेत सँगै  लगिएको बताइएको छ। दिल्लीस्थित एपोलो अस्पतालमा पहिले पनि नेपाली नेताहरू र विशिष्ट व्यक्तिहरूको उपचार भइसकेको छ।

नेता झलनाथ खनाल स्वयं पनि विगतमा यही अस्पतालमा उपचार गराएर फर्किएका थिए। स्रोतका अनुसार, खनाल अहिले काठमाडौंमै छन् तर उनकी छोरी र अन्य पारिवारिक सदस्यहरू दिल्ली गएका छन् ।

उता, रविलक्ष्मी चित्रकारमाथि भएको हिंसात्मक हमलाप्रति सामाजिक तथा राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ। एकजना नेताको परिवारलाई लक्षित गरेर यस्तो प्रकारको आक्रमण हुनु लोकतान्त्रिक अभ्यासविपरीत भएको भन्दै विभिन्न नेताहरूले आपत्ति जनाएका छन्। नेपाल महिला संघ, मानव अधिकार आयोग लगायतका संस्थाहरूले दोषी पहिचान गरी कडा कारबाहीको माग गरेका छन्।

जेनजी आन्दोलनको नाममा भइरहेको आन्दोलनले हिंसात्मक रूप लिँदा जनधनको क्षति हुने क्रम बढेको भन्दै सुरक्षा व्यवस्थामा समेत प्रश्न उठिरहेको छ। गृह मन्त्रालयले यस घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक रूपमा पत्नीको स्वास्थ्य अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले भनेका छन्, “शान्तिपूर्ण आन्दोलनको नाममा यस्तो अमानवीय हिंसा हुनु दुःखद र आपत्तिजनक छ। रविलक्ष्मीको जीवन रक्षा गर्नु अहिले हाम्रो पहिलो प्राथमिकता हो।”

चित्रकारको स्वास्थ्यमा सुधार होस् भन्ने कामनासहित देशभरका शुभेच्छुक र समर्थकहरूले सामाजिक सञ्जालमा प्रार्थना गरिरहेका छन्। उनको अवस्थाबारे जानकारी लिने क्रम जारी रहेको र दिल्लीमा उपचार शुरू भएपछिको अवस्था सार्वजनिक गरिने परिवारले जनाएको छ।