विश्व प्रसिद्ध धाविका शेली एन फ्रेजर

282
Shares

जमैकाकी शेली एन फ्रेजर प्राइस छोटो दुरीको दौडमा निकै नाम कमाएकी धाविका हुन् । शेलीलाई फ्लोरेन्स ग्रिफ्थ जोएनर, एलाने थोम्पसन हेराह, गेल डेभर्स जस्ता महान स्प्रिन्टरहरूसँग तुलना गरिएको छ ।

उनले हालै जापानमा भएको वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपलाई अन्तिम प्रतियोगिता भनेकी छन् । योसँगैं उनको १८ वर्षको सुनौलो करिअर पनि समाप्त हुने भएको छ ।

संजोगवश १८ वर्षअघि शेलीको विश्व प्रतियोगितामा पहिलो सहभागिता पनि जापानमै भएको थियो । अहिले उनले जापानबाटै करिअर समाप्त भएको घोषणा गरेकी छन् ।

३८ वर्षीया शेलीले ९ वल्र्ड च्याम्पियनसिप र ५ ओलम्पिक गेम्समा सहभागिता जनाएका हुन् । उनले ओलम्पिकमा तीन स्वर्ण जितेकी छन् । यी धाविकाले वल्र्ड च्याम्पियनसिपअन्तर्गत १ सय मिटर दौडमा ५ पटक स्वर्ण जितेर रेकर्ड पनि राखेकी छन् । यो रेकर्ड हालसम्म पनि कसैले तोड्न सकेकी छैनन् ।

शेली १ सय मिटर महिला दौडमा तेस्रो छिटो दौडिने धाविका हुन् । उनको व्यक्तिगत उत्कृष्ट समय १०.६० सेकेण्डको हो । उनीभन्दा अगाडि अमेरिकाकी दिवंगत फ्लोरेन्स ग्रिफ्थ जोएनर (१०.४९ सेकेण्ड) र जमैकाकी एलाने थोम्पसन हेराह (१०.५४ सेकेण्ड) छन् ।

यस्तै, उनी १ सय मिटरको वल्र्ड टाइटल जित्ने सबैभन्दा पाको उमेरकी विजेतासमेत घोषित भएकी थिइन् । २०१९ मा जित्दा उनको उमेर ३२ वर्षको थियो ।
शेलीको पदक

ओलम्पिक गेम्सः
३ स्वर्णः
१०० मिटर (बेइजिङ २००८ र लन्डन २०१२) -४ सय मिटर रिले (टोक्यो २०२०)
४ रजतः
१०० मिटर (२०२०), २०० मिटर (२०१२) ÷ १ सय मिटर रिले (२०१२ र रियो दि जनेरियो २०१६)
१ कांस्यः
१०० मिटर (२०१६)

वल्र्ड च्याम्पियनसिपः
१० स्वर्णः
१ सय मिटर (२००९, २०१३, २०१५, २०१९, २०२२) ÷ २०० मिटर (२०१३) ÷ १ सय मिटर रिले (२००९, २०१३, २०१५, २०१९)
६ रजत ः
२०० मिटर (२०२२)÷१ सय मिटर रिले (२००७, २०११, २०२२, २०२३, २०२५)
१ कांस्यः
१०० मिटर (२०२३)