भारतीय गायक जुबिन गर्गको स्कुबा ड्राइभिङको क्रममा ५२ वर्षको उमेरमा सिंगापुरमा निधन भएको छ।
नर्थ इस्ट इन्डिया फेस्टिभलमा भाग लिन सिंगापुर पुगेका जुबिनले गत शुक्रबारदेखि सुरु हुने भनिएको कार्यक्रममा शनिबार प्रस्तुति दिने तालिका थियो। तर सेप्टेम्बर १९ का उनको स्वास्थ्य समस्या देखियो। घटनापछि गार्डहरूले तुरुन्तै उनलाई उद्धार गरी सीपीआर दिएर सिंगापुर जनरल अस्पतालमा पु¥याएका थिए।तर पुनर्जीवित गर्ने प्रयास असफल भएको र दिउँसो २ः३० बजे आईसीयूमा चिकित्सकले उनलाई मृत घोषित गरेको महोत्सव आयोजक प्रतिनिधि अनुजकुमार बोरुआले सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।
सिंगापुरमा पोष्टमार्टमपश्चात् उनको शव भारत लगिएको थियो। आसामका मुख्यमन्त्री हिमन्त बिस्वा सरमा जुबिनको पार्थिव शरीर लिन दिल्ली विमानस्थलमै पुगेका थिए। उनले दिल्ली विमानस्थल पुगेर शोक व्यक्त गरेका थिए।
जुबिन गर्गको जन्म १८ नोभेम्बर १९७२ मा आसामको तीनसुकिया जिल्लामा भएको थियो। उनले सन् २००६ मा इमरान हाशमी अभिनित फिल्म ग्याङ्स्टरको चर्चित गीत या अलीबाट बलिउडमा ठूलो लोकप्रियता कमाएका थिए। उनले फरर पछ्यौरी, झल्को तिम्रो, छोडेर जाँदैछौ जस्ता नेपाली भाषाका थुप्रै गीत गाएका थिए।
उनले हिन्दी र नेपाली मात्र नभई उनले बंगाली, अंग्रेजी, कन्नड, तमिल, तेलुगु, मराठी, मलयालम, उडिया, संस्कृत, सिन्धी, विष्णुप्रिया मणिपुरी, बोरो, कार्बी, खासी, मिसिङलगायत करिब ४० भाषा र बोलीमा ३८ हजारभन्दा बढी गीत गाएका थिए। जुबिन गर्गलाई आसामको सबैभन्दा धेरै कमाउने गायक मानिन्थ्यो। गर्गको पार्थिव शरीर आइतबार बिहान दिल्लीबाट गुवाहाटी ल्याइएपछि लाखौं प्रशंसक अन्तिम विदाई गर्न सडकमा ओइरिएका थिए। जसका कारण पूरा गुवाहाटीको सडक जनसागरले भरिएको थियो। गुवाहाटी विमानस्थलमा पार्थिव शरीर पुगेपछि पत्नी गरिमा सैकिया गर्ग पार्थिव शरीरलाई अंगालेर विक्षिप्त भएकी थिइन्। जुबिनको निधनपछि आसाम मात्र नभई सम्पूर्ण भारतभर शोक छाएको छ।











प्रतिक्रिया