काठमाडौं।
जेन–जी आन्दोलनका कारण १० दिन बन्द रहेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार खुलेको थियो । तर, लगानीकर्तामा आत्मविश्वास नहुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार लगातार तेस्रो पटक नकारात्मक सर्किट ब्रेक लाग्दै ६ प्रतिशतले घटेर कारोबार स्थगित भएको छ ।
बिहीबार कारोबार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर २० मिनेट बजार रोकिएको थियो । त्यसपछि खुलेको बजार फेरि एक मिनेटमै पाँच प्रतिशतले घटेपछि दोस्रोपटक ४० मिनेटका लागि स्थगन भयो । पुनः खुलेको बजारमा तेस्रोपटक थप एक प्रतिशत घटेपछि दिनभरको लागि कारोबार रोकिएको हा े।
यससँगै नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको छ । बिहीबारे सात मिनेटको कारोबार अवधिमा ७२ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
बजारमा आएको तीव्र गिरावटसँगै लगानीकर्ताको सम्पत्तिको मूल्य एकै दिनमा २ खर्ब ६८ अर्ब रुपियाँले घटेर ४१ खर्ब ९९ अर्बमा सीमित भएको छ ।
आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र क्षतिको असर सेयर बजारमा प्रत्यक्ष देखिएको हो । विशेषगरी निर्जीवन बीमा कम्पनीमा २० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको छ, जसले बीमा तथा पुनर्बीमा कम्पनीको सेयर मूल्यमा ठूलो दबाब ल्याएको छ ।
बजारमा सबै समूहगत परिसूचक घटेका छन्। व्यापार, लगानी, होटल, अन्य समूह र जीवन बीमा समूह सबैभन्दा धेरै प्रभावित भएका छन्, जसमा ६ देखि ७ प्रतिशतसम्म गिरावट देखिएको छ। यी समूहको बजारमा करिब ७० प्रतिशत हिस्सा भएकाले समग्र नेप्सेमा ठूलो असर परेको विश्लेषकहरूको भनाइ छ । नेप्सेले अब आगामी असोज ५ गते मात्रै कारोबार हुनेछ ।











प्रतिक्रिया