कास्की ।
मुस्ताङमा भन्सार खुलेको वर्षौं भयो । तर, व्यापारिक रूपमा सामान आयात तथा निर्यात भने पहिलोपटक भएको छ । मुस्ताङको कोरोला नाकाबाट व्यापारिक सामान आउन थालेको छ । नाका खुलेसँगै आयात निर्यात सहज हुने विश्वास स्थानीयबासीले गरेका छन् । चीनबाट सामानमात्रै आयात नभई नेपालबाट कोरोला नाका हँुदै सामान निर्यातसमेत गरिएको छ ।
पहिले नाकाबाट मुस्ताङबासीले अत्यावश्यक पर्ने सामान एवं व्यावसायिक प्रायोजनका लागि प्रयोग हँुदै आएकोमा अहिले सवारी साधनसहित ठूला कन्टेनर आएपछि कोरोला व्यापारिक नाका हुन पुगेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले सबै क्षेत्र आतातायी हुन पुगेको छ । यद्यपि, लामो समयदेखि कोरोना नाका खुलाउनुपर्ने दबाब नआएको होइन । नाका खुले पनि भदौ अन्तिम सातामात्रै कन्टेनरसहित सामान नेपाल प्रवेश गरेको छ ।
‘भन्सार खुलेको त धेरै भइसक्यो । तर, कन्टेनरसहितको सामान भने बल्ल आएको हो’ –लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङले बताउनुभयो । उहाँले सवारी साधन र लत्ता कपडा नेपाल भित्रिएको जानकारी दिनुभयो ।
कोरोना नाकाबाट सामान नेपाल भित्रिए पनि नेपालतर्फ भने व्यवस्थित भन्सार कार्यालय छैन । चीनतर्फ भौतिक पूर्वाधार बनिसकेको लामै समय भइसक्यो । नेपालतर्फ अस्थायीमात्र छन् । त्यसबाटै नेपाल भित्रिएको सामानलाई इन्ट्री गरिएको हो । नाका खुलेसँगै स्थानीयबासीलाई समेत राहत भएको छ ।
चीनले चीन प्रवेशका लागि पटके पास स्थानीयलाई बनाउने गरेको छ । पास बनाएर स्थानीयबासी आफ्नो सवारीसाधन लिएर चीनबाट अत्यावश्यक सामान खरिद गरेर ल्याउन सहज भएको अध्यक्ष गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो– ‘स्थानीयले पटके पासमार्फत उता आफ्नै ट्रक लिएर सामान ल्याउने गरेका छन् ।’
नाकाबाट अहिले ईभी गाडीसहित अन्य लत्ता कपडाको कन्टेनर भित्रिएको कोरोला भन्सार कार्यालयले जनाएको छ । ‘१ सय ५१ विभिन्न कम्पनीका ईभी गाडी भित्रिएका छन्’, कोरोना भन्सार प्रमुख रमेश खड्काले भन्नुभयो– ‘झन्डै ६७ वटा कन्टेनर भन्सार परिसरमा छन् । जसमा लत्ता कपडा रहेका छन् ।’ नाकाबाट व्यापारिक सामान आउन थालेपछि व्यवसायीलाई सहज हुने विश्वास छ । आएका ६७ वटा कन्टेनरमध्ये २१ वटा जाँचपास गरेर पैठारी गरिएको छ । उहाँले नेपालबाट समेत दुई कन्टेनर सामान निर्यात गरिएको जानकारी दिनुभयो ।
जाडो मौसमकै पूर्वसन्ध्यामा चीनबाट जाडोमा लगाउने लत्ता कपडा, जुत्ता चप्पल आयात हुँदा नेपालबाट भने पूजाका सामान, मूर्ति तथा ज्याकेट निर्यात गरिएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । ‘अब नियमित रूपमा कोरोना नाकाबाट सामान आयात निर्यात हुन्छ’ –उहाँले भन्नुभयो ।
कोरोना नाकाबाट सामान आयात निर्यात हुन थालेपछि सहज र छोटो मार्ग हुँदै सामान आइपुग्ने अपेक्षा गरिएको छ । ४७ सय मिटर उचाइमा रहेको कोरोला नाका पोखरादेखि २ सय किलोमिटरको दूरीमा छ । सडक सञ्जाल सहज भएकाले पनि व्यापारिक प्रयोजनका लागि कोरोना नाका बढी प्रयोग हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया