देशभर साधारण बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर मौसममा प्रभाव परेको छ। अरब सागर र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पहाडी भूभागमा साधारण बदली र बाँकी क्षेत्रमा आंशिक बदली ल्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान छ।

आज राति पनि देशभर साधारण बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा मध्यम वर्षा, साथै पहाडी र तराई भूभागका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।