पार्टी खोल्दै मेयर बालेन्द्र

बिभिन्न तहमा छलफल सुरु

25.29k
Shares

काठमाडौं ।

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार गठन भएको एक साता बित्न नपाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पार्टी खोल्ने चर्चा चुलिएको छ । जेन–जी पुस्ताको आन्दोलनमा सामाजिक सञ्जालमा सक्रिय मेयर साहको टिमले आन्दोलनपछि सरकार गठनका लागि संसद् विघटन पहिलो माग राख्नुभएको थियो । उक्त माग पूरा भएर सुशिला कार्की नेतृत्वको सरकार बनेपछि अहिले मेयर साहको टिमले निर्वाचनपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको माग अघि सारेको छ ।

प्रत्यक्ष निर्वाचत प्रधानमन्त्री हुन संविधान संशोधन अनिवार्य छ । संविधान संशोधन गर्न दुई तिहाई मत चाहिन्छ । त्यसैले मेयर साह दुई तिहाई मत ल्याएर संविधान संशोधन गरी कार्यकारी प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । त्यसैले उहाँ जेन–जी आन्दोलनपछि रास्वपा छाडेका सुमना श्रेष्ठ, पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकाल, गणेश कार्कीलगायत उच्च तहका नेता समेटेर पार्टी खोल्ने तर्खरमा हुनुहन्छ ।

त्यसका लागि मेयर साह परामर्शको चरणमै हुनुहन्छ ।जेन–जी आन्दोलनपछिको चुनावी सरकारको नेतृत्व लिन मेयर बालेनलाई चौतर्फी दबाब थियो । तर, साहले प्रधानमन्त्रीका लागि सुशिला कार्कीलाई समर्थन जनाएर पछि हट्नुभयो । निर्वाचित भएरै सरकार सञ्चालन गर्ने सोचमा बालेन रहेको जानकारी दिँदै उहाँ निकट उच्चस्रोतले नेपाल समाचारपत्रलाई भन्यो– ‘निर्वाचन जितेर प्रधानमन्त्रीको कुर्सीमा बस्ने चाहना मेयर साहको छ ।

स्थानीय तहदेखि प्रदेश र संघमा उम्मेदवार उठाउने र बहुमत ल्याएर संविधान संशोधन गर्ने अनि सरकार चलाउने चाहना मेयर साहको टिमको छ । त्यसका लागि तत्काल दल दर्ता गराउने विषयमा उहाँ लगातार परामर्शमा हुनुहुन्छ । अहिले छलफलको चरणमा छौं, केही समयपछि जानकारी होला ।’ उहाँले आफू निकट साथीभाइका साथै कामपामा कार्यरत विज्ञ सल्लाहकारसँग समेत परामर्श गरिरहनुभएको बुझिएको छ ।

सरकारले फागुन २१ गते निर्वाचन मिति घोषणा गरिसकेको छ । निर्वाचनमा सहभागी हुन कम्तीमा पछि ३ महिनाअघि पार्टी खोल्नुपर्छ । स्रोतका अनुसार निर्वाचनमा आफू र आफ्नो पार्टी जिताउनकै लागि स्वतन्त्र र छवि राम्रो भएका व्यक्तिलाई पार्टीमा भित्र्याउन त्यस्ता व्यक्तिको खोजीमा हुनुहुन्छ । पछिल्लो समय दैनिक कार्यालय समयमा महानगरको कार्यकक्षमा देखिनु हुने मेयर साह विभिन्न टिमसँग सल्लाहमा व्यस्त हुनुहुन्छ ।

प्रधानमन्त्रीमा सुशिला कार्कीलाई सिफारिस गर्नुभएका मेयर साहले अब बन्ने मन्त्री नाम चलेका र ख्यातिप्राप्त व्यक्ति हुनुपर्ने अडान राख्नुभएको छ । अब मन्त्री बन्नेमा साहको टिमको व्यक्ति नै हुने सम्भावना छ । स्रोत भन्छ– ‘६ महिनापछि हाल मन्त्री बनेका सबैले बालेनको पार्टी चलाउने छन्, बालेन सरकार चलाउनुहुन्छ । सोही योजनाअनुसार मेयरका सल्लाहकार ओमप्रकाश अर्याललाई कानुन र गृहमन्त्री बनाइएको हो । उहाँलाई गृहमन्त्री बनाउनु भनेकै निर्वाचनमा आफ्नो पार्टीलाई सहज बनाउनु हो । अब फेरि मन्त्री हुने सूचीमा मेयरका केही व्यक्तिहरू छानिन सक्छन् ।’

साहको टिमले जेन–जीको माग पूरा हुनु फागुन २१ को निर्वाचन कुनुपर्ने आश्वासन दिने गरेको छ । प्रत्यक्ष निर्वाचित र कार्यकारी प्रधानमन्त्री हुन २ तिहाई सिट ल्याउनुपर्छ । अब फेरि मिहिनेत गर्न सबैलाई आग्रह गर्दै बालेनको टिमले जेन–जीलाई भन्ने गरेको छ– ‘६ महिनापछि हुने निर्वाचनमा हाम्रो जित हुनेछ । अनि हामीले भनेअनुसार सरकार सञ्चालन गर्न पाउनेछांै ।’

जेन–जी आन्दोलनपछि मेयर साह धेरै हिसाबले अनुकूलतामा पुग्नुभएको छ । योजनाअनुसार सरकार अघि बढ्नसके जेन–जी पुस्तालाई हातमा लिएर संविधान संशोधन गर्न निर्णय गर्न सक्नेछन् । त्यो जनमत बटुल्न केही सामान्य मिहिनेत गरे पुग्छ । त्यसको तयारीमा मेयर साह र उहाँको टिम लागिरहेको छ । सायद केही महिनाभित्र मेयर साहले पार्टी खोल्नुहुनेछ र सो पार्टीमा विभिन्न पक्ष र विज्ञ सहभागी हुनेछन् ।

अन्तरिम सरकारको कामचलाउ प्रधानमन्त्री नभएर पूर्ण कार्यकारी अधिकारयुक्त शक्तिशाली प्रधानमन्त्री बन्ने मेयर साहको चाहना छ । मेयर साहले पार्टी खोले हाल स्थानीय तहका अधिकांश निर्वाचित पदाधिकारी राजीनामा दिएर साहको पार्टीमा प्रवेश गर्ने आँकलन भइरहेको छ । नेपाल समाचारसँग कुरा गर्दै केही स्थानीय तहका निर्वाचित जनप्रनिनिधिले भने– ‘खै बुढा नेताले केही गर्दैनन्, बालेनकै पार्टीमा प्रवेश गर्ने भन्ने सोचमा छौं ।’