विश्व बिरामी सुरक्षा दिवस : “प्रत्येक नवजात शिशु र बच्चाका लागि सुरक्षित हेरचाह”

846
Shares

काठमाडौँ ।

प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व बिरामी सुरक्षा दिवस यस वर्ष विशेष गरी नवजात शिशु र बालबालिकाको सुरक्षित हेरचाहमा समर्पित गरिएको छ । यस वर्षको मूल विषयवस्तु “प्रत्येक नवजात शिशु र प्रत्येक बच्चाको लागि सुरक्षित हेरचाह” रहेको छ भने नारा “सुरुदेखि नै बिरामीको सुरक्षा!” तय गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एशियाकी प्रभारी अधिकृत डा. क्याथरिना बोहेमका अनुसार जन्मदेखि बाल्यकालसम्मको उपचार र हेरचाहमा हुने त्रुटिहरूले जीवन र मृत्युबीचको भिन्नता ल्याउन सक्छन् । असुरक्षित प्रसूति अभ्यास, खोप सुरक्षामा खाडल, कमजोर अक्सिजन थेरापी प्रोटोकल र निदानमा हुने ढिलाइ बालबालिकाको जीवनको लागि गम्भीर चुनौती भएको उनले बताइन् ।

विगत दशकमा दक्षिण–पूर्वी एशियामा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन उल्लेखनीय सफलता हासिल भएको छ । यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्रगति गर्ने क्षेत्रमा परेको हो । तथापि, अझै पनि दैनिक १५ सयभन्दा बढी नवजात शिशुले आफ्नो पहिलो महिनामै ज्यान गुमाइरहेका छन्, जुन पाँच वर्षमुनिका कुल मृत्युदरको करिब ६० प्रतिशत हो ।
विश्वभर प्रत्येक वर्ष २३ लाख नवजात शिशुको मृत्यु हुन्छ ।

तीमध्ये करिब १५ प्रतिशत मृत्यु सेप्सिसका कारण हुने गरेको तथ्यांक छ । दक्षिण एसियामा मात्रै प्रति १ हजार जीवित जन्ममा औसत १५.८ नवजात शिशु सेप्सिस देखिन्छ, जसको केस मृत्युदर ३४ प्रतिशत रहेको छ । ल्यान्सेट आयोगको अध्ययनअनुसार गुणस्तरीय, सुरक्षित र सरसफाइपूर्ण स्वास्थ्य हेरचाह उपलब्ध भए ६० प्रतिशतसम्म नवजात मृत्यु रोक्न सकिनेछ ।

डब्लुएचओको पहल

डा. बोहेमका अनुसार डब्लुएचओले सदस्य राष्ट्र, साझेदार र समुदायसँग मिलेर नवजात शिशु र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न थुप्रै कार्यक्रम अघि बढाएको छ ।मातृ, नवजात र बाल स्वास्थ्य सुरक्षाका प्रोटोकललाई सबै तहमा सुदृढ पार्ने,
स्वास्थ्यकर्मीलाई तालिम र व्यावहारिक उपकरणमार्फत संक्रमण तथा असुरक्षित अभ्यास पहिचान गर्न सहयोग गर्ने,

सुरुदेखि नै सफा र सुरक्षित प्रसूति अभ्यासलाई प्रोत्साहित गर्ने,
सुरक्षित औषधि आपूर्ति र रक्त बैंक प्रणालीलाई बलियो बनाउने,
परिवार र हेरचाहकर्तालाई सक्रिय साझेदारका रूपमा सहभागी गराउने,
जस्ता कामलाई प्राथमिकतामा राखिएको छ ।

यस वर्षको अभियानले दिएको प्रमुख सन्देश अनुसार, बालबालिकालाई वयस्कजस्तै सामान्य उपचार दिनु हुँदैन, उनीहरूको उमेर, तौल, विकास चरण र आवश्यकता अनुसार फरक प्रकारको सुरक्षित हेरचाह आवश्यक हुन्छ । विशेष गरी सघन उपचार वा जटिल उपचार प्रक्रियामा बालबालिकाहरू बढी जोखिममा रहने भएकाले असुरक्षित अभ्यासबाट जोगाउन पहिले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

चिकित्सा त्रुटि, औषधि प्रयोगमा लापरबाही, अस्पतालजन्य संक्रमण, उपकरण प्रयोगमा समस्या र स्वास्थ्य बिग्रँदै गएको संकेत छुट्नु जस्ता कारण नै बच्चाहरूमा बढी हानी पु¥याउने कारण हुन् । त्यसैले व्यवस्थित प्रणाली, दक्ष स्वास्थ्यकर्मी र सक्रिय परिवारको सहभागिता मिलाएर मात्र बालबालिकाको जीवन सुरक्षित गर्न सकिने बताइन्छ ।

“हाम्रो साझा लक्ष्य हो– कुनै पनि बालबालिका उपचारकै क्रममा हानी भोग्न नपरोस्,” डब्लुएचओकी डा. बोहेम भन्छिन्, “नवजात शिशु र बालबालिकाको जीवनको सुरुदेखि नै गुणस्तरीय र सुरक्षित हेरचाह सुनिश्चित गर्नुपर्छ । यसमा सबै सरोकारवालाको साझा प्रतिबद्धता अपरिहार्य छ ।”

विश्व बिरामी सुरक्षा दिवस २०२५ को अवसरमा स्वास्थ्य विज्ञहरूले बालबालिकाको जीवनरक्षा र सुरक्षा केवल चिकित्सक वा स्वास्थ्य संस्था मात्र होइन, नीति निर्माता, परिवार र सम्पूर्ण समाजको साझा दायित्व भएको सन्देश दिएका छन् ।