भिजिट भिसा रोकिँदा श्रमिक भर्ना प्रभावित हुने संकेत


काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा अस्थायी रूपमा रोक लगाएसँगै श्रमिक भर्ना प्रक्रियामा समेत असर पर्न सक्ने देखिएको छ । नेपालमा जेन–जी आन्दोलन भएपछि यूएईमा काम गरेर बसेका श्रमिकले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आउन सक्ने भन्दै एयरपोर्टमा भीड गरी आन्दोलन गरेपछि यूएई सरकारले यस्तो निर्णय लिएको जानकारहरूले बताएका छन् ।

सोमबारदेखि लागू भएको यस निर्णयबारे यूएई सरकारले औपचारिक जानकारी नदिए पनि भिसा सेवा प्रदायक एजेन्सीहरूले आवेदन लिन छाडेका छन् । आवेदन पेस गर्ने क्रममा नेपालीका लागि अस्थायी रूपमा रोक लगाइएको सूचनामात्र दिइएको छ । यसले नेपाली श्रमिकलाई पनि रोक लगाउने आँकलन गरिएको छ ।

भदौ २४ गते नेपालमा भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने तथा जेलबाट फरार भएकाबारे सार्वजनिक समाचार आएपछि यूएईले यस्तो कदम चालेको बुझिएको छ । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने गन्तव्य यूएई नै हो । पछिल्लो समय भिजिट भिसामा गई रोजगारी खोज्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । तर, रोजगार नपाउने, अवैधानिक रूपमा बस्ने र ‘ओभरस्टे’ गर्नेको संख्या बढेकाले यूएईले यसलाई गम्भीर रूपमा लिएको अनुमान गरिएको छ ।

यूएईस्थित नेपाली राजदूतावासले भने यसबारे औपचारिक सूचना आइनसकेको स्पष्ट जनाएको छ । दूतावासले यसबारे यूएई पक्षसँग औपचारिक सोधपुछ गर्ने तयारी भएको जनाएको छ । नेपाली दूतावासका तथ्यांकअनुसार हाल यूएईमा ८ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन् । भिजिट भिसामार्फत गई रोजगार भिसामा परिवर्तन गर्ने नेपालीको संख्यामात्रै करिब तीन लाख पुगेको छ ।

यो तथ्यांकले नेपाली कामदारको ठूलो हिस्सा अनौपचारिक तरिकाले यूएई पुग्ने गरेको देखाउँछ ।भिजिट भिसा रोकिँदा तत्काल रोजगारी खोज्न जानेहरूलाई समस्या हुने स्पष्ट छ । साथै, यसले भविष्यमा वैधानिक श्रमिक आपूर्तिमा समेत असर पार्ने संकेत देखिएको छ । नेपाल सरकारले यस विषयलाई प्राथमिकताका साथ यूएईसँग छलफल गरी समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।