आज देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभर सामान्यतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थान र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा र कोशी, बागमती, कर्णाली तथा लुम्बिनीका केही भागमा भारी वर्षा हुने सम्भावना छ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र कोशी, बागमती, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।