“पाइरेट” झण्डा अब विद्रोहको प्रतीक

एनिमेको झण्डादेखि आन्दोलनको आवाजसम्म

0
Shares

इतिहास र पप संस्कृतिको एक अनौठो मोडमा, जापानी कार्टून अर्थात चित्र–पुस्तक कथाबाट आएको पाइरेट झण्डा आज अश्रुग्यासले भरिएका सडकहरू, आक्रोशित भीडका नाराहरू र न्यायका मागहरुबीच फहरिन थालेका छन । ‘वान पिस’ मा मंकी डी. लुफीको पाइरेट समूहको काल्पनिक प्रतीकका रूपमा सुरुआत भएको जोली रोजर र कालो झण्डामा टोपी लगाएको खैरो खप्पर अब केवल कार्टूनसम्म मात्र सीमित छैन । यो प्रतीक अब जाकार्तादेखि काठमाडौंसम्म फैलिएको जेन जी विद्रोहको एउटा स्वतन्त्र चिह्न बनेको छ । यो झण्डा अब आवाज उठाउन नडराउने एउटा पुस्ताको आत्माभिव्यक्ति बनेको छ।

मङ्गाबाट आन्दोलनसम्मको यात्रा

मङ्गा अर्थात जापानी चित्र पुस्तक ‘वान पिस’ को कथामा स्ट्रा ह्याट पाइरेटहरू त्यस्ता डाकुहरू हुन्, जसले स्वतन्त्रता, निष्ठा र न्यायको खोजीमा सरकारविरुद्ध विद्रोह गर्छन् । उनीहरू कानुनी रूपमा अपराधी भए पनि व्यवहारमा उत्पीडितको पक्षमा लड्ने पात्रहरू थिए । त्यही भावना अहिले ‘जेन जी’ पुस्ताका प्रदर्शनकारीहरूले आत्मसात गरेका छन् । उनीहरूका लागि यो झण्डा विद्रोह मात्र होइन, न्यायको प्रतीक समेत बनेको छ ।
सन् २०२५ को जुलाईमा इन्डोनेसियाको जाकार्तामा भएको आन्दोलनमा पहिलो पटक जोली रोजरको पाइरेट झण्डा देखापरेको हो । युवाहरूले भ्रष्टाचार, राज्यद्वारा गरिने हिंसा र प्रणालीगत अन्यायको विरोधमा यो झण्डा फहराएका थिए । २१ वर्षीय अफ्फान कुर्नियावानको आन्दोलनको क्रममा प्रहरीको गाडीले कुल्चिएर मृत्यु भएपछि यो प्रतीक अझ व्यापक रूपमा फैलियो ।

काठमाडौंमा पाइरेट झण्डाको नयाँ अर्थ

भर्खरै नेपालमा भएको जेन जी आन्दोलनमा पनि इन्डोनेसियामा जस्तै पाइरेट झण्डा देखियो । यसपटक, निरन्तर भ्रष्टाचारको आरोप खेपिरहेको सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा युवाहरू सडकमा उत्रिए । काठमाडौंका मुख्य सडकहरूमा ‘स्ट्रा ह्याट’ झण्डा हल्लाउँदै, युवाहरू भ्रष्टाचार, निगरानी र अधिनायकवादविरुद्ध चिच्याइरहेका थिए । कसैले लुफीको चित्र भएको टी–शर्ट लगाएका थिए भने कसैले “द टाईम इज नाउ” र “वेकअप नेपाल” लेखिएका पोस्टर बोकेका थिए । आन्दोलन हिंसात्मक बन्यो । धेरै घाइते भए, दर्जनौले ज्यान समेत गुमाए ।

भाइरल झण्डा

काठमाडौंका चोकहरुदेखि इन्स्टाग्राम र रेड्डिटसम्म स्ट्रा ह्याट झण्डा अहिले एउटा भाइरल सांस्कृतिक संकेत बनेको छ । इन्स्टाग्राममा अश्रुग्यास र आगोबीच फहराइरहेको झण्डाको तस्बिरहरू धेरै शेयर भए । रेड्डिटको ‘वान पिस’ सबरेडिट (१६ लाख सदस्य भएको) मा प्रयोगकर्ताहरूले यसलाई एनिमे अर्थात कार्टून इतिहासकै सबैभन्दा सशक्त प्रयोग भनी चर्चा गरिरहेका छन् । फिलिपिन्सको युनिभर्सिटी अफ द फिलिपिन्समा १ हजार भन्दा बढी विद्यार्थीहरूले हातले कोरेका स्ट्रा ह्याट झण्डा बोकेर भ्रष्टाचारविरोधी दौडमा भाग लिएका थिए । अहिले फ्रान्समा आर्थिक नीतिविरुद्ध प्रदर्शन गरिरहेकाहरू पाइरेट टोपी र स्ट्रा ह्याट झण्डासहित सडकमा उत्रिएका छन । युवाहरु माझ यो झण्डा अब केवल कार्टुनको सजावट मात्रै रहेन, यो अहिले गम्भीर राजनीतिक सन्देश बोकेको एक दृश्य भाषा पनि बनेको छ । कसैलाई लाग्न सक्छ, राजनीतिक आन्दोलनमा कार्टूनको झण्डा केटाकेटीको खेल हो भनेर । तर, अन्तराष्ट्रीय क्षेत्रका चर्चित सञ्चार र संस्कृति विज्ञहरू भने भिन्न मत राख्छन ।

डिजिटल युगमा विद्रोहको आवाज

सामाजिक सञ्जाल र डिजिटल माध्यमले यो प्रतीकलाई विश्वव्यापी बनाएको छ । विश्लेषकहरू भन्छन—यो एक ‘ग्लोबल रेजिस्टेन्स नेटवर्क’ को हिस्सा हो । “एनिमे अहिले सांस्कृतिक भाषा बनिसकेको छ,” एडबर्ट गानी सुर्यहुडाया भन्छन्, जो सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडीजमा कार्यरत छन् । “युवा पुस्ता त्यही भाषा प्रयोग गरेर सत्ता र अन्यायको सामना गरिरहेको छ ।” उही संस्थाका डी. निक्की फहरिजाल भन्छन्, “यी आन्दोलनहरू डिजिटल, घाँसफुसको तहबाट सुरु भएका र अत्यन्तै रचनात्मक छन् । जोली रोजर अब केवल झण्डा मात्र होइन, उनीहरूको आवाज पनि हो ।” टिकटक, इन्स्टाग्राम र डिस्कोर्डमा पोस्ट गरिएका भिडियोहरूमा ‘वान पिस’ का दृश्यहरू र वास्तविक आन्दोलनका फुटेज मिसाउन थालिएका छन् । यी भिडियो, पोस्टर र डिजिटल बहसहरू आन्दोलनको कल्पनालाई यथार्थमा बदल्ने एउटा घोषणापत्रको माध्यम जस्तै भएका छन ।

राजनितिक दर्शनभन्दा पृथक सांकेतिक चिन्ह

जोली रोजर झण्डा इन्डोनेसिया, नेपाल, फिलिपिन्स र फ्रान्सका सडकहरूमा फहराइएका छन । यसले के संकेत गर्छ भने अब यो केवल एनिमेको झण्डा मात्र होइन, यो एउटा पुस्ताको आक्रोश, सामूहिक चेतना र परिवर्तनको आकांक्षाको स्वरूप बनेको छ । जोली रोजरको स्ट्रा ह्याट पाइरेट झण्डा अब एक नयाँ युगको विद्रोहको प्रतीक बनेको छ । जहाँ युवाहरू कुनै राजनितिक दर्शन र आस्थामा समर्पित कंग्रेस, कम्युनिष्टको परम्परागत झण्डा नभई अन्याय र भ्रस्टाचारविरुद्ध पाइरेट झण्डा मार्फत आफ्ना दबिएका आवाज बुलन्द गर्दैछन ।